अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराई समुहमा मच्चियो हल्ला
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको इगोका कारण पार्टीमा बहुमतको खेल खेलेर विभाजनतिर अग्रसर भएका छन् । जसले तत्कालीन समयमा पार्टी फुटेर ६ सांसदमा सीमित हुनबाट जोगाइदियो अहिले उनैलाई पार्टीबाट निकालेर पार्टी हत्याउन उपेन्द्र र बाबुराम लागेका छन् ।
अरुलाई राजनीतिक नैतिकता सिकाउँदै हिँड्ने उपेन्द्र र बाबुरामले जसपाभित्र यति चलखेल र षडयन्त्र गरेका छन् जसको कुनै हिसाब किताब गरी साध्य छैन । ओलीसँग बदला लिने इगोले प्रचण्डको उक्साहटमा उपेन्द्र र बाबुराम प्रथम अध्यक्ष महन्थ ठाकुरसँग निहुँ खोजेर पार्टी फुटाउने र सत्तासँग बदला लिने पटक पटक प्रयासमा छन् । तर सफल हुन सकेका छैनन् ।
जतिसुकै षडयन्त्र गर्दा, प्रचण्डका सुझाव र उक्साहट कार्यान्वयन गर्दा लगातार हारिरहेका छन् । कहिले प्रचण्डको शरणमा त कहिले वकिलहरुको शरणमा पुगेर बरबराईरहेका उपेन्द्र र बाबुरामले यो बिचमा अदालत जाने धम्की दिए । जुन निर्वाचन आयोगलाई अदालत जाने धम्की दिएका थिए उपेन्द्र र बाबुरामले । आज त्यहीँ आयोगलाई पार्टी फुटाउन विन्ती हालेका छन् ।
प्रथम अध्यक्ष ठाकुर समूहलाई हटाएर आफूलाई आधिकारिकता दिन भन्दै पार्टी कब्जा गर्नका लागि आयोगलाई विन्तीपत्र चढाएका छन् यादव र भट्टराईले । तर जसपाको हरेक निर्णय दुई अध्यक्षको हस्ताक्षरमा हुने कुरा बिर्सिएका छन् उपेन्द्र र बाबुरामले । आयोगले भने यसअघि नै मिलेर आउन दुबै पक्षलाई भनिसकेको छ । पुरानै कमिटीलाई मान्यता दिएको छ । मिल्नुपर्ने आयोगको निर्णय चित्त दुखाउँदै उपेन्द्र र बाबुराम पार्टी फुटाउन फेरि आयोगको शरणमा पुगेका छन् । नेपालपाना


