अन्त्यमा बादललाई ठुलो धोका
काठमाडौं । नेकपा एमालेमा पानी बाराबारको अवस्थामा रहेका अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल सहमतिका लागि भन्दै वार्तामा बसेकै भएपनि रामवहादुर थापा बादललाई भने धोका हुने भएको छ । एमालेको विवाद समाधान तर्फ अघि बढ्दै गर्दा राष्ट्रियसभाका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई एमालेवाटै धोका हुने भएको हो । एमालेकै माधव नेपाल पक्षको प्रस्तावमा डा। खिमलाल देवकोटा पनि उम्मेदवार बनाईएका छन् ।
यता केन्द्रीय राजनीतिमा वार्ता जारी रहेपनि कुनै ठोस सहमति भएको छैन । जसका कारण वादल र खिमलाल मध्ये एकजनाले धोका पाउने निश्चित थियो । पछिल्ला दिनमा विकसित घटनाक्रमले अन्ततः बादलले नै धोका पाउने देखिएको छ ।
बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा बादल र देवकोटा यस्ता उम्मेदवार हुन्, जो एउटै पार्टीका दुई अलग समूहको प्रतिनिधित्व गर्दछन् । बादल नेकपा एमालेका आधिकारिक उम्मेदवार हुन् भने डा। देवकोटालाई एमालेको खनाल–नेपाल पक्षले उम्मेदवार बनाएको हो । देवकोटालाई काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षले समेत समर्थन जनाएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यसअघि बादलको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिबद्धता जनाएको बताएको थियो । तर, माधव नेपालको सचिवालयले बादलको दाबीको खण्डन गरेको छ ।
बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्ने सहमति नभएको बताएका छन् । आफ्नै पहलमा डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको हुनाले मतदाताले स्वविवेक प्रयोग गर्न पाउने नेता नेपालले स्पष्ट पारेका छन् ।
नेता नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘ आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।’
गौतमले वक्तव्यमा अगाडि भनेका छन्, ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’नेपालीभाइरल न्युज


