काङ्ग्रेसमा पत्रकार अजयबाबु शिवाकोटीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पत्रकार अजयबाबु शिवाकोटीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल प्रेस युनियनको महासचिव समेत रहेका पत्रकार शिवाकोटीले सक्रिय पत्रकारिता जीवनलाई विश्राम दिदैं पार्टी राजनीतिलाई अगाडि बढाउन चाहेको बताए ।
हाम्रा कुरा डटकमको संस्थापक प्रधान सम्पादक रहेका शिवाकोटी दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २ दशकभन्दा लामो पत्रकारिता जीवनका दौरान प्राप्त अनुभवलाई मूलधारको राजनीतिमा समर्पित गर्न आफू केन्द्रीय सदस्यको उम्मेदवार बन्ने शिवाकोटीले बताए ।
‘पत्रकारिताको माध्यमबाट लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र जनताका सवालमा आवाज उठाउँदै आएको हुँ । अब भने सक्रिय राजनीतिबाटै योगदान गर्न चाहेको छु’, उनले पत्रकारहरुसँग भने ।
केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएपछि सक्रिय पत्रकारिता र प्रेस राजनीतिमा नफर्कने घोषणा गर्दै शिवाकोटीले सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहने बताए ।
‘सञ्चारकर्ममा उद्यमीका रुपमा म रहन्छ तर जिते पार्टीको नेता बन्ने, हारे फेरि पत्रकार बन्ने मेरो सोच होइन’, उनले भने ।


