काङ्ग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक (कमाण्डर)
२९ गते कात्तिक २०७८ । नेपाली काँग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत् प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक (कमाण्डर) तोकेको छ । आज काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले संयोजक तोकेको हो ।
निर्णय अनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ । जस अनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।
अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछन् ।


