घरमै बसेर निर्णय तयार गर्दै
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा २१ असारमा बहस सकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित संवैधानिक इजलासका न्यायाधीशहरू इजलासमा छैनन् । न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई मात्र हाेइन, आफ्नै लागि पनि राणाले इजलास ताेकेका छैनन् ।
संवैधानिक इजलासमा बसेका न्यायाधीशहरू २१ असारपछि अदालत पनि आएका छैनन् । अझै केही दिन न्यायाधीशहरू अदालत नआउने बताउँछ, सर्वोच्च अदालत स्राेत ।
बहुप्रतीक्षित मुद्दाकाे पेसी एक साता पर सारेर न्यायाधीशहरू के गर्दैछन् त ?
३३ घण्टे ‘म्याराथन बहस’ का दौरान पक्ष, विपक्ष र एमिकस क्युरीका राय सुनेर पनि न्यायाधीशले आराम पाएका छैनन् । २८ असारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको संसद विघटनसम्बन्धी मुद्दामा पेस भएका तर्क, तथ्य र कानुनको अध्ययनमा व्यस्त छन् न्यायाधीश । यही व्यस्तताका कारण उनीहरू अदालत नआएकाे बताइएकाे छ ।
सर्वोच्च स्रोतका अनुसार, प्रधानन्यायाधीश राणा पेसी तोक्न बिहान एकछिन अदालतमा झुल्किन्छन् । पेसी तोकिसकेर उनी तुरून्तै घर फर्किन्छन् । ९ असारदेखि निरन्तर बहस भएको यो मुद्दाको ११औँ दिन (२१ असार) मा बहस सकिएको थियो ।
११ दिनसम्म दैनिक चार घण्टा इजलासमा बसेका ५ जना न्यायाधीश घरमै बसेर अध्ययन गरिरहेका छन् । पक्ष, विपक्ष र एमिकसले पेस गरेका बहस नोट, सन्दर्भ सामग्री र किताब २१ असारमै न्यायाधीशले आफूसँगै लगेका थिए । अहिले उनीहरू तिनै सामग्री अध्ययन गरिरहेका छन् ।
पक्ष, विपक्ष, एमिकस क्युरीसहित ८२ जनाले याे मुद्दामा बहस गरेका थिए । ती बहसका तर्क, तथ्य, कानुन सन्दर्भ सामग्री र बहस नोट न्यायाधीशले लगेको बताउँछन्, अदालतका कर्मचारी ।
अघिल्लो पटकको विघटन मुद्दाको क्रममा पनि संवैधानिक इजलासमा बसेका न्यायाधीशलाई तीन दिन घरमै बसेर अध्ययन गरेका थिए । त्यतिखेर पनि उनीहरूलाई इजलास तोकिएको थिएन । ११ फागुनमा अदालत आएर फैसला सुनाइएको थियो ।
MilestoneShikhar Insurance
विवादको मूल जरो मानिएको संविधानको धारा ७६ को सम्पूर्ण व्याख्या गर्नुपर्ने भएकाले पनि एक हप्ताको समय लिएको हुनसक्ने आकलन गरिएको छ । ३३ घण्टाको निरन्तर बहस र १ हप्ताको अध्ययन, मननपछि २८ असारमा न्यायाधीशले दिने फैसलाले नै अब देशको बाटो तय हुनेछ ।
प्रतिनिधिसभा विघटन मुद्दा कहिले के भयो ?
१३ जेठ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल बेञ्चमा संवैधानिक इजलासमा माग नगरिएका १९ वटा रिटको सुनुवाइ । राष्ट्रपतिको अधिकारसहित धारा ७६ को व्याख्या गर्नुपर्ने ठहर गर्दै प्रधानन्यायाधीश राणाले १९ वटै रिट संवैधानिक इजलासमा पठाए ।
१४ जेठ: संसद विघटनसम्बन्धी परेका ३० वटै रिटको संवैधानिक इजलासमा सुनुवाइ सुरु । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा निवेदकतर्फका कानुन व्यवसायीले प्रश्न उठाए । श्रेष्ठले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेका थिए । केसीले उक्त फैसलामा पुनरावलोकन नहुने निर्णय गरेका थिए ।
१६ जेठ : रिट निवेदकका तर्फबाट न्यायाधीश श्रेष्ठ र केसीमाथि प्रश्न जारी रह्यो । सरकार पक्षबाट बहस गर्ने महान्यायाधिवक्ता रमेश बडालले निवेदकतर्फबाट बहस गर्ने वकिलहरूले रिटमा विपक्षी बनाइएका सभामुख अग्निप्रसाद सापकोटालाई सल्लाह दिएकोमा इजलासमै आपत्ति जनाए । न्यायाधीशको विषयलाई लिएर पक्ष र विपक्षबीच बाझाबाझ ।
१८ जेठ : सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलपछि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश राजी । संवैधानिक इजलास सञ्चालन नियमावली २०७२ संशोधन गर्ने प्रधानन्यायाधीशको वाचा ।
इजलासमा बस्ने र नबस्ने सवालमा न्यायाधीशबीच मतान्तर । निष्पक्ष्ताको प्रश्न उठेका न्यायाधीश श्रेष्ठ र केसीले इजलास नछाड्ने राय पेस गरे । प्रश्नै नउठेका न्यायाधीश दीपक कुमार कार्की र आनन्दमोहन भट्टराईले श्रेष्ठ र केसीले इजलास छाड्नुपर्ने सुझाव दिँदै उनीहरू इजलासमा बसे आफू नबस्ने सुनाए । न्यायाधीशबीच भएको मतान्तरले गर्दा सुनुवाइ सात दिनलाई स्थगित ।
२६ जेठ : वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन । इजलासमा परेका कार्की र भट्टराईमाथि सरकार पक्षको प्रश्न ।
सरकारी पक्षबाट अधिवक्ता राजाराम घिमिरे, कृष्ण भण्डारी, धनजित बस्नेत, यज्ञमणि न्यौपानेले सर्वोच्चका ११ न्यायाधीशले नै यो मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन समेत दिए । यस्तो निवेदन दिनेलाई प्रधानन्यायाधीश राणाले मानहानीको मुद्दा लगाउने चेतावनी दिए ।
मुद्दामा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र सभामुखलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश । संसद विघटनसम्बन्धी निर्णय र सिफारिस भएको सक्कल फाइल समेत माग । ४ जना सदस्य रहनेगरी एमिकस क्युरीको माग । बहसका लागि कुल ३२ घण्टा समय पनि तोकियो । १५ घण्टा रिट निवेदकलाई, १५ घण्टा विपक्षीलाई र २ घण्टा एमिकस क्युरीलाई । अर्को सुनुवाइ ९ असारलाई तोकियो ।
३१ जेठ र १ असार : नेपाल बार एसोसिएसनबाट राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाउने निर्णय । सर्वोच्च अदालत बार एसोसिएसनबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा पठाउने निर्णय ।
३ असार : राष्ट्रपति कार्यालयले संसद विघटन र प्रधानमन्त्री नियुक्तिमा गरेको निर्णय संविधान बमोजिम रहेको । राष्ट्रपतिले संविधान बमोजिम गरेका कामकारबाही र निर्णय अदालतले बदर गर्न नसक्ने लिखित जवाफ राष्ट्रपति कार्यालयले अदालतमा पठायो ।
३ असार : शेरबहादुर देउवासहितका १४६ सांसदले माग गरेबमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाको जस्तो निर्दलीय व्यवस्था ब्युँतिने । दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई नरहेको र अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पठाए ।
३ असार : प्रधानमन्त्रीमा कसैको दाबी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको । राष्ट्रपतिको निर्णय गैरसंवैधानिक भएको । ओली २७ वैशाखमै पदमुक्त भइसकेको दाबी गर्दै सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ बुझाए ।
९–१३ असार : रिट निवेदक तर्फका वकिलहरूको बहस सुरु । १३ असारसम्म रिट निवेदकका तर्फबाट ३६ जनाले बहस गरे । धारा ७६ को उपधारा ५ मा दलीय ह्वीप नलाग्ने । एक पटक विश्वासको मत नपाएको, अर्को पटक विश्वासको मत नलिएको व्यक्तिले फेरि उपधारा ५ अनुसार दाबी गर्न नमिल्ने । धारा ७६ को उपधारा ५ अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको दाबी निवेदक पक्षका कानुन व्यवसायीले गरे ।
१४–१८ असार : प्रधानमन्त्री, राष्ट्रपतिको निर्णयको बचाउमा सरकारी र निजी गरेर ३२ जना वकिलले बहस गरे । धारा ७६ को उपधारा ५ मा ह्वीप लाग्छ । राष्ट्रपतिको निर्णयमा न्यायिक पुनरावलोकन हुँदैन । मार्गप्रशस्त गरेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्री पदमा दाबी गर्न पाउँछ । संसद् विघटन संविधानसम्मत भएको । देउवाले आफ्नो समर्थनमा बुझाएका हस्ताक्षर जाली, नक्कली रहेको । अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन । संसद विघटन र प्रधानमन्त्रीको नियुक्ति राजनीतिक विषय भएकाले अदालत बोल्न नमिल्ने जिकिर गरे ।
२० असार : सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ जना निजी वकिलले बहस गरे । पाँचै जनाले संसद विघटन असंवैधानिक भएको, सभामुखसँग सल्लाह नगरेको र राष्ट्रपतिले संसदको अधिकार मिचेको दाबी गरे । रिट निवेदक पक्षले जवाफी बहसका लागि पाएको ३ घण्टा बहस पनि यही दिन सुरु भयो । जवाफी बहसको सुरुवात पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले गरे । जवाफी बहसकर्तालाई प्रधानन्यायाधीश राणा, न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईका ७ प्रश्न ।
२१ असार : रिट निवेदको जवाफी बहस समाप्त । एमिकस क्युरीका ४ जना सदस्यको राय पनि पेस । मुद्दा हेर्दाहर्दैमा राखेर २८ असारका लागि पेसी तोकियो । अब इन्तजार फैसलाको ।


