१२ आश्विन २०८३, सोमबार

चिनियाँ खोप राख्न समस्या , विभिन्न जिल्लामा फ्रीजरको ब्यवस्थान नहुँदा खोप अलपत्र

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार ०३:०६ मा प्रकाशित

डेढ वर्षअघि ठेक्का लागे पनि भण्डारण केन्द्रको जगसमेत खनिएन, भर्खरै आएको १६ लाख डोज खोप राख्न समस्या, साताभित्र ३० लाख डोज आउँदै 

केन्द्रीय भण्डारण कक्ष नै टहरामा, प्रदेशमा कोल्ड रुम जडान बाँकी 

२३ गते कात्तिक २०७८  — चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ । बुधबार आएको १६ लाखमध्येकै खोप रेफ्रिजेरेटर जडित गाडीमा छ भने एक साताभित्रै थप ३० लाख डोज ल्याउने तयारी छ ।
राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन सरकारले २०७६ कात्तिकमै प्रक्रिया सुरु गरेको थियो । राजधानीको टेकुसहित बाराको पथलैयामा केन्द्रीयस्तरको र विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रदेशस्तरको भण्डार केन्द्र बनाउने भनिएको थियो ।
टेकुस्थित स्वास्थ्य विभाग परिसरमा दुई वर्षमा सक्ने गरी ८ करोड ४० लाख २० हजार रुपैयाँ बजेटमा भण्डारण केन्द्र बनाउन २०७६ फागुनमा कौशल बस्नेत र कुँवर जेभीले ठेक्का पाएका थिए । तर, डेढ वर्ष बितिसक्दा जगसमेत खनिएको छैन । राजधानीबाहिर भौतिक संरचना सम्पन्न भए पनि ‘कोल्ड चेन’ जडान भएका छैनन् । उपत्यकाबाहिर कोल्ड चेन जडानको जिम्मेवारी खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) को सहयोगमा युनिसेफले लिएको विभागले जनाएको छ ।
सरकारले वैशाखसम्ममा कुल २ करोड ५१ लाख ३९ हजार डोज खोप ल्याउने लक्ष्य राखेको छ । १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार जनालाई खोप लगाउन अझै बाँकी छ । नेपाललाई आवश्यक खोप दिन उत्पादक कम्पनी सकारात्मक छन् । तर ल्याएका खोप राख्ने ठाउँ नहुँदा खोप अभियानले गति लिन सकेको छैन । भण्डारण अभावकै कारण गत असारमा चीनबाट खरिद गरिएको पहिलो चरणको १० लाख डोज भेरोसेल खोप त्रिभुवन विमानस्थलबाट सिधै वाग्मती र गण्डकी प्रदेशको भण्डारण केन्द्रमा पठाइएको थियो ।
प्रदेश १ को विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको भण्डार कक्ष छ । अहिले ७ हजार लिटर नियमित खोपले ओगटेकाले अब २ हजार ७ सय लिटर मात्रै राख्न सकिन्छ । कर्णालीमा आफ्नै चिस्यानयुक्त भण्डार छैन । आवश्यक खोप नेपालगन्जबाट आपूर्ति हुँदै आएको छ । नेपालगन्जमा ७ हजार ५ सय लिटर क्षमताको भण्डारण छ ।
प्रदेश २ मा पनि भण्डारण स्थान नै छैन । सिरहा र सप्तरीमा विराटनगरबाट र अरू ६ जिल्लामा हेटौंडाबाट आपूर्ति हुन्छ । विराटनगर, नेपालगन्जमा सञ्चालित प्रदेशस्तरका भण्डार कक्ष पनि दुई दशक पुराना हुन् । राजधानीमै भण्डार कक्ष समयमा निर्माण नहुनुमा ठेकेदार कम्पनी र कर्मचारी जिम्मेवार देखिन्छन् । ठेक्का अवधिभित्र विभागमा तीन जना महानिर्देशक परिवर्तन भइसकेका छन् । ‘काम सुरु गर्न २/३ फिट जग खनेपछि कालोमाटो, बालुवा मिसिएको माटो र पानी भेटियो । डिजाइनअनुसार हात्तीपाइले मात्र उठाएर संरचना बनाउँदा पछि भासिने डर भयो । यही कुरा उल्लेख गरेर माटो परीक्षण गराउन विभागमा निवेदन दियौं,’ ठेकेदार कम्पनी कौशल बस्नेतका कार्यकारी निर्देशक भक्तबहादुर बस्नेत भन्छन्, ‘तर, माटो परीक्षणको रिपोर्ट आउन मात्रै महिनौं लाग्यो । रिपोर्टले पनि हात्तीपाइलेले मात्र संरचना बनाउँदा पछि भासिने सम्भावना रहेको प्रतिवेदन दियो ।’
डिजाइन परिवर्तन गर्न मात्रै कर्मचारीले तीन महिना लगाएको उनको आरोप छ । अहिले फाइल विभागमा विचाराधीन रहेकाले स्वीकृति भएको भोलिपल्टबाट काम थाल्ने उनी बताउँछन् । ‘निजी काम भए फाइल स्वीकृत गर्न ७ दिनमा सकिन्थ्यो । तर, यहाँ ७ महिना लाग्यो,’ उनले भने, ‘बैंक धरौटी र बिमा मात्र नवीकरण गर्न वार्षिक ९ लाख रुपैयाँ खर्च लाग्छ । काम गर्न दिनुपर्‍यो कि ठेक्का रद्द गरेर क्षतिपूर्ति दिनुपर्‍यो ।’ उनले नयाँ डिजाइनअनुसार बजेट स्वीकृत भएमा नौ महिनाभित्रै ठेक्का पूरा गर्ने दाबी गरे ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने आफू भर्खरै आएकाले यसबारे जानकारी नभएको बताए । विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले फाइल स्वीकृति गर्ने क्रममा रहेको प्रतिक्रिया दिए । ‘छलफलमा छौं,’ उनले भने ।
केन्द्रीय भण्डारण कक्ष अहिले टहरामा छ । यहाँ कोभिडबाहेक गर्भवती महिला र शिशुलाई दिनुपर्नेर् बीसीजी, डीपीटी, हेपाटाइटिस बी, पोलियो, दादुरा, रुबेला, जेई, टिटानस, टीडी खोप भण्डारका लागि कोचाकोच गर्नुपर्ने अवस्था छ । प्रत्येक वर्ष यी खोप एक करोड ९३ लाख ७५ हजार डोज आउँछन् । सरकारले निःशुल्क लगाउने यस्ता खोप समयमा नलगाए क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, निमोनिया जस्ता रोगको जोखिम बढ्छ । यी ९ थरी खोप भण्डारणको समस्या कोभिडअघि नै थियो । भण्डार कक्ष अभाव हुँदा नियमित खोपसमेत पर्याप्त मात्रामा भण्डारण हुन सकेको छैन ।
विश्व स्वास्थ्य संगठनले प्राकृतिक विपत्तिलगायत व्यवस्थापन कमजोरीका कारण समयमा खोप ल्याउन नसकिने भन्दै ६ देखि ११ महिनासम्मको स्टक राख्नुपर्ने मापदण्ड तोकेको छ । तर, भण्डारण अभावका कारण मुस्किलले ३ महिनाका लागि मात्र खोप राख्दै आएको विभागको कोल्ड चेन एन्ड भ्याक्सिन व्यवस्थापन शाखा प्रमुख बडेबाबु थापाले बताए । ‘पोलियो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । अन्य खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डार गर्नुपर्छ,’ उनी भन्छन्, ‘तापक्रम मिलाउन नसके खोप बिग्रिन्छ । त्यसैले तत्काल आधुनिक खोप भण्डार केन्द्र जरुरी छ ।’
प्रदेशतिर पनि समस्या उस्तै छ । प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा निमित्त प्रमुख शम्भु साहका अनुसार नियमित खोप भण्डार जेनतेन गर्दै आइरहेकामा कोभिड खोपसँगै रोटा र टाइफाइड खोपले भण्डारमा समस्या थपिएको छ । ‘नयाँ भण्डार कक्षमा कोल्ड रुम चाँडै जडान गर्न पाए खोप बिग्रिने थिएन,’ उनी भन्छन् ।
उता, धनगढीमा खोप ओसारपसार गर्ने रेफ्रिजेरेटर भ्यान डेढ वर्षदेखि थन्किएको छ । नयाँ खरिदका लागि विभागलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गर्दै आइरहेको धनगढीका कर्मचारीको गुनासो छ । भ्यान नहुँदा सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरालगायत दुर्गम जिल्लामा खोप ‘कोल्ड बक्स’ मा राखेर ओसारपसार हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा प्रमुख पद्म बिष्टले जसरी भए पनि ७२ घण्टाभित्र सम्बन्धित जिल्लाको कोल्ड रुममा पुर्‍याउनुपर्ने अन्यथा बिग्रिने समस्या रहेको बताए । ‘धेरै टाढा पुर्‍याउनुपर्ने जिल्लामा तापक्रम सन्तुलन बनाउन आइस बक्सले समेत भ्याउन गाह्रो छ,’ उनी भन्छन्, ‘यसले केन्द्रबाट भ्याक्सिन ल्याइसकेपछि पुनः प्याकिङ गर्नॅपर्ने अर्को समस्या छ ।’ बुटवल, विराटनगर र हेटौंडामा भने कोल्ड रुम सञ्चालनमा ल्याउन थ्री फेज लाइन जडान गर्न बाँकी छ । खोप विज्ञ श्यामराज उप्रेती भन्छन्, ‘फाइजर खोप माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्छ । प्रदेशस्तरमा यस्तो भण्डार कक्ष बनेको छैन । केन्द्रमा पनि एक लाख डोज अट्ने सानो मात्र तयार भएको छ ।’
उप्रेतीका अनुसार फाइजर खोप माइनस ७० डिग्रीमा राख्न सके ६ महिनासम्म बिग्रिँदैन । माइनस २ देखि माइनस ८ डिग्रीमा राखेमा एक महिना मात्र टिक्छ । केन्द्रमा माइनस ७० डिग्री र प्रदेशस्तरमा माइनस २ देखि ८ डिग्रीको भण्डार कक्ष बनाउन सकिने उनको सुझाव छ । स्वास्थ्य विभाग कोल्ड चेन एन्ड भ्याक्सिन व्यवस्थापन शाखा प्रमुख थापाले कोल्ड रुम भन्सार कार्यालयमा रहेको र चाँडै ल्याउने क्रममा रहेको बताउँछन् । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x