३ श्रावण २०८३, आईतवार

चीनबाट आयात सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

एसीपी संवाददाता

१० श्रावण २०८१, बिहीबार १६:१५ मा प्रकाशित

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ ।

गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ ।

गत वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।

सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सडक मार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा रोकिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौँका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडकको अभावमा रसुवागढीमै रोकिएका छन् ।

अन्तर्राष्ट्रिय व्यापार व्यवसाय गराउने प्रमुख मार्गलाई तत्काल मर्मत गरि सञ्चालन गरिदिन व्यवसायीले अनुरोध गरेका छन् ।
ठूलो पानी परे पूरै क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै वैकल्पिक मार्गका लागि बोगटीटार–बनुवा र आम भञ्ज्याङ सिम्ले, तारूके हुँदै धारापानीको ग्रामीण सडक मर्मत गरी यातायात सञ्चालनमा सहज पारिदिन स्थानीयले सुझाव दिएका छन् ।

रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इञ्जिनियर सुवोध देवकोटाले पहिरो स्थलमा प्राविधिक अध्ययन सुरू भइसकेको, एक/दुई दिनमै सबै खाले सवारी साधन सञ्चालन गराउने जनाउँदै वैकल्पिक मार्गका रूपमा पहिलो चरणमा धारापानी, बेलचौर, सिम्ले ग्रामीण सडक सञ्चालन गराउन आजैदेखि मर्मत सुरू गरिएको बताए । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x