१३ मंसिर २०८३, शनिबार

देउवाको सभापतिमा जित्ने पक्का , कोईराला पनि समर्थनमा , पौडेल उस्तै पछारिए

एसीपी संवाददाता

२० मंसिर २०७८, सोमबार २३:२४ मा प्रकाशित

२० गते मङ्सिर २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोइराला परिवारका हस्ती शेखर कोइरालाले आफ्नै समूहका नेतालाई पराजित गरेका छन् ।

यससँगै केन्द्रीय सभापति पदमा दाबेदारी प्रस्तुत गर्दै आएका शेखर त्यसबाट पछि हटेर संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा समूहमा आएको चर्चा चलेको छ ।

यसअघि रामचन्द्र पौडेल समूहमा रहेका शेखरले प्रदेश नम्बर १ अर्थात कोइराला परिवारको गढ मानिने पूर्वमा पौडेल समूहबाट उम्मेदवार रहेका चर्चित युवा नेता गुरुराज घिमिरेलाई हराइदिएका छन् ।

शेखरले गुरु घिमिरेलाई आफ्नो मत नदिएर असहयोग गर्दा पराजित हुन् पुगेका छन् । आफूले पौडेल समूहका उम्मेदवार गुरुलाई मत नदिएर शेखरले देउवा समूहका उम्मेदवार उद्धव थापालाई जिताएका छन् । सिर्फ दुई मतले थापा जितेका छन् । यदि शेखरले मत हालेको भए मात्रै पनि नतिजा बराबरी हुने थियो ।

तर उनले हालेनन् । उनीसँगै उनकी बहिनी सुजाता कोइरालाले पनि मत हालिनन् । सुजाता पनि पछिल्लो समय पौडेल समूह छाडेर देउवातिर नजिकिएकी छिन् । त्यस्तै गिरिजा दाहिने हात मानिने महेश आचार्यले पनि भोट नै हालेनन् । पौडेल समूहका बलबहादुर केसीले पनि मत हालेनन् । यदि यी चार जनाले मत हालेको भए गुरु घिमिरे उल्टै दुई मत अन्तरले जित्ने थिए । तर नतिजा बराबरीमा ल्याउने अवस्था भएका शेखरले नै मत दिएनन् ।

शेखरले खुल्लम खुल्ला आफूले मत हाल्न उपयुक्त नलागेपछि नहालेको प्रतिक्रिया दिएका छन् । ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरुदेखि नै “संशय” थियो,’ उनले भनेका छन्, ‘कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें ।’

विधान देखाउँदै मतदान नगरेको बहाना शेखरले देखाएका छन् । तर सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यले प्रदेश अधिवेशनमा मत हाल्न पाउने स्पष्ट व्यवस्था विधानमा उल्लेख छ । यसबाट शेखरले नियोजित रुपमै मत नहालेको पुष्टि हुन्छ ।

शेखरले नै देउवा क्याम्पमा लागेको सन्देश दिनेगरी गुट परिवर्तन गरेपछि पौडेल समूहका कार्यकर्ताले आक्रोश पोखेका छन् । जानकार स्रोतकाअनुसार पौडेलले प्रकाशमान सिंहलाई सभापतिको उम्मेदवार बनाउने भएपछि शेखर चिढिएको बताइन्छ । जसका कारण उनले मत नहालेर असन्तुष्टि देखाए । साथै उनको पछिल्लो समय देउवासँग सुजातासहित सम्वाद भइरहेको बुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x