नातावादको लोभमा प्रचण्ड र माधव नेपाल
३ गते असोज २०७८ । सत्ता गठबन्धनका नेताहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पितादेखि स्वास्नीसम्म पदक बाँडेको पाइएको छ ।
सातौ संविधान दिवसका अवसरमा माधवकुमार नेपालले आफ्ना पिता साहित्यकार मंगलप्रसाद उपाध्याय र प्रचण्डले आफ्नी स्वास्नी सीता दाहाललाई पदक दिलाएका हुन् । आफ्नै हातमा सत्ता भएको मौकामा माधव र प्रचण्डले आफ्नो परिवारलाई पदक दिलाउन सफल भएका हुन् ।
आफ्नैलाई पदक बाँडेपछि सत्ता गठबन्धनभित्र विरोध सुरु भएको छ । प्रतिपक्षी नेकपा एमालेले पनि नातावादको विरोध गरेको छ ।
एमाले नेता एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले सोधेका छन, ’माधव कुमार नेपालका पिताजी प्रवल, प्रचण्ड पत्नी प्रसिद्ध जनसेवाश्री ?’
संविधान दिवस तथा राष्ट्रिय दिवस –२०७८ को अवसरमा नेपाल सरकारको निर्णयमा प्रदान गरिने पदक तथा विभूषण प्राप्त गर्ने दुई जना विशेष व्यक्तिमा स्वयं सत्ता गठबन्धनका मुख्य नेताहरूका दिवंगत पिता र विरामी पत्नी रहनु भएको छ । खासमा उहाँहरूको विशिष्ठ योगदानमा नै उहिले संविधान जारी भएको सन्देश यस निर्णयमबाट दिन खोजिएको होला!
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कु. नेपालका पिता मंगलप्रसाद उपाध्याय नेपाललाई मरणोपरान्त प्रवल जनसेवाश्री पदक प्रदान गरिने भएको छ । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी विरामी पत्नी सीता दाहाललाई स्वास्थ्यलाभको कामनासहित राजनीतिक अभियन्ताको रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।
दुवैजना सत्ताधारी गठबन्धनका अध्यक्षहरूले पदक वितरणमा आफ्नो हात जगन्नाथ गरेको दृष्टान्त यसबाट स्पष्ट भएको छ । थापाले व्यंग्य गरेका छन् ।


