पुर्ब राजा ज्ञानेन्द्र देखि बिप्लव सम्म एकतामा आटाउदै
काठमाडौं । पछिल्लो हप्ता सक्रिय भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शुक्रबार राप्रपा अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् ।
केपी शर्मा ओली सरकारको बहिगर्मनलगत्तै सक्रिय बनेका विप्लवले अध्यक्ष थापासँग भेटवार्ता गरेका हुन् । शुक्रबार थापा निवास बुढानिलकण्ठ पुगेका विप्लवले आफ्नो भूमिगतकालमा राप्रपाले गरेको सहयोगप्रति आभार व्यक्त गरे । पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)लाई साथमा लिएर विप्लवले राप्रपा अध्यक्ष थापासँग भेटवार्ता गरेका हुन् ।
गत फागुन २१ गते सरकारसँग ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएका विप्लव लामो समय शान्त रहँदै कपिलवस्तुमा बस्दै आएका थिए । तर, गत असार २९ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सत्ताच्यूत भएकै भोलिपल्ट असार ३० गतेदेखि विप्लवले राजनीतिक भेटवार्तालाई निरन्तरता दिएका छन् ।
विप्लवले प्रचण्ड, माधवकुमार, बाबुराम र वैद्यको कस्तो सन्देश सुनाए ओलीलाई ?विप्लवले प्रचण्ड, माधवकुमार, बाबुराम र वैद्यको कस्तो सन्देश सुनाए ओलीलाई ?
असार ३० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका विप्लवले त्यसपछि एमाले नेता माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, एमालेमा गएका पूर्वमाओवादीका नेताहरु तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।
सोही क्रममा शुक्रबार बिहानै विप्लवले राप्रपा अध्यक्ष थापासँग भेटवार्ता गरेका हुन् । आफ्नो भूमिगतकालमा राप्रपाले गरेको वैचारिक सहयोगको खुलेर प्रशंसा गर्दै विप्लवले भने, ‘भूमितगत कालमा राज्यले दमन गरेको बेला विप्लवदेखि राजासम्म अटाउनु पर्छ भनेर सार्वजानिक अपिल गरिदिएकोमा धन्यवाद । यसरी हाम्रो लागि पनि बोलिदिएर हामीलाई ठुलो भरोसा दिनुभयो । मुलुक कठिन अवस्थामा पुगेको र वैदेशिक हस्तक्षेप अत्यन्त तिव्र भइरहेकोले अब सबै दलहरु मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्र्नु पर्नेमा विप्लवले जोड दिए ।
गत फागुन २१ गते ओली सरकारसँग भएको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका उनले आफ्ना १२५ भन्दा धेरै कार्यकर्ता अझै जेलमा रहेको जानकारी दिए । प्रधानमन्त्री फेरिए पनि सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका उनले यसमा राप्रपाको सहयोगको समेत अपेक्षा गरेको बताए ।
जवाफमा राप्रपा अध्यक्ष थापाले सरकारले विप्लवसँगको सहमति कार्यान्वयन हुनु पर्छ भन्ने राप्रपाको धारणा रहेको बताए । थापाले भने, तपाइँहरुसँग भेट्ने इच्छा थियो, आज भेट भयो, तपाइँहरुले उठाएको सवालमा राप्रपाको साथ र समर्थन छ । देशले निकास पाउनको लागि परिवर्तनकारी शक्ति र परम्परावादी शक्ति मिल्नु जरुरी छ ।
जनमत संग्रहको कुराले होस् वा अन्य कुनै राष्ट्रिय सहमतिले विप्लवदेखि राजासम्म अटाउने राजनीतिक प्रणालीको विकास हुन पर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरे । ‘बाह्य हस्तक्षेप तिव्र छ, र राष्ट्रियता, स्वधीनता रक्षा गदैै आफ्नो निर्णय आफै गर्न सक्ने प्रणालीको विकास हुनु जरुरी छ , थापाले भने ।
भेटमा प्रवक्ता प्रकाण्डले दश वर्षे जनयुद्धपछि जनताको शासन चाहेपनि अहिले पनि पूँजीपति र दलालहरुकै सत्तामा हालीमुहाली रहेको छ, जनताहरु अझै पीडित छन्, जनताको शासन स्थापना गर्न सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
भेटमा राप्रपाका बरिष्ठ नेता दिपक बोहरा, बुद्धिमान तामांङ, सचिवालय प्रमुख ध्रुव बहादुर प्रधान, लुम्बिनी प्रदेश अध्यक्ष, प्रदिप उदय, मिडिया नेपालका अध्यक्ष तथा कार्यसम्पादन समिति सदस्य गोपाल पौडेलको समेत उपस्थित रहेको थियो । canadanepal


