५ कार्तिक २०८३, बुधबार

पोखरा विमानस्थलबारे चिनियाँ वक्तव्यमाथि प्रदीप ज्ञवालीले उठाए प्रश्न 

एसीपी संवाददाता

२० पुष २०७९, बुधबार २२:१९ मा प्रकाशित

पोखरा विमानस्थलबारे चिनियाँ वक्तव्यमाथि प्रदीप ज्ञवालीले उठाए प्रश्न

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन चिनियाँ पक्षले दिएको वक्तव्यबारे असन्तुष्टि व्यक्त गरेका छन् ।

अनलाइनखबरसँग अन्तर्वार्ता क्रममा ज्ञवालीले चीनका कार्यबाहक राजदूत वाङ सिनले उक्त विमानस्थल बीआरआई अन्तर्गत बनेको भनी दिएको वक्तव्यको आलोचना गरेका हुन् । ‘उहाँले के आधारमा त्यो वक्तव्य दिनुभयो भन्ने मेरो प्रश्न छ,’ उनले अन्तर्वार्तामा भनेका छन् ।  ज्ञवालीले अगाडि भने, ‘पोखरा विमानस्थलको बहस सन् २०१० देखि नै भएको थियो । बीआरआईमा नेपालले हस्ताक्षर गर्नुभन्दा एक वर्षअघि नै शिलान्यास र फन्डिङ मोडालिटीबारे कुरा भइसकेको थियो । तर के अर्थमा चीनका कार्यवाहक राजदूतले भन्नुभएको हो, मैले बुझ्न सकिनँ ।’

उनले दुई छिमेकी मुलुकसँग नेपालले मित्रता र सहकार्य गरेरै अघि बढ्ने, कसैलाई नजिक टाढा गर्न नहुने मत राखे ।

भारतसँग नेपालको मित्रता हुँदाहुँदै पनि त्यस मित्रतामा अझै पनि अप्ठेरो रहेको भन्दै उनले पछिल्ला केही उदाहरण दिए ।
‘सिमानासम्बन्धी विवाद अझै सल्टेका छैनन्, नोटबन्दी गर्दा संसारभरिका नोट साट्यो, हाम्रो साटिदिएन’, भारतलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो तर्फबाट पनि परराष्ट्र नीति सञ्चालनमा विगतमा डेभिएसन देखिएका छन् । अबको सरकारले त्यसलाई लिकमा राख्न सक्नुपर्छ ।’ अघिल्लो सरकारका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बीआरआईको ऋण नलिने, अनुदानबारे सोच्न सकिने भनी दिएको अभिव्यक्तिप्रति ज्ञवालीले असन्तुष्टि जनाए ।

‘प्रधानमन्त्री भएको व्यक्तिमा त्यस बेला सूचना र ज्ञानको कमी देखियो, दाताको अनुहार हेरेर ऋण लिने र नलिने तय गर्न हुँदैन’, उनले भने, ‘चिनियाँ ऋणले विकासका नाममा पासोमा पार्छ भनेर एकपक्षीय न्यारेटिभ निर्माण गरिएको छ । जबकि अर्जेन्टिना, चिलीजस्ता देशहरुले विश्व बैंककै ऋण लिए पनि ठीक ढंगले नचल्दा गलत दिशामा पुगेका छन् ।’

अर्को प्रश्नमा ज्ञवालीले एकीकृत समाजवादीसँग एकताबारे थुप्रै समस्या रहेको, तर त्यस दलमा भएकाहरु फर्केर आए पार्टीले उचित ठाउँ दिन सक्ने बताए ।

ज्ञवालीसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको अन्तर्वार्ता यो भिडियोमा हेर्न सकिन्छ । यसको पूर्णपाठ भोलि अनलाइनखबरमा प्रकाशित हुनेछ ।

तस्वीर र भिडियो : शंकर गिरी / यो समाचार अनलाइनखबर बाट साभार गरिएको हो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x