रविबारे कांग्रेस थप आक्रामक : बजेट अधिवेशन पनि चल्न नदिने रणनीति
संसदीय छानबिन समिति गठन गर्न सत्ता पक्ष तयार नभए राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार वैशाख २८ का लागि आह्वान गरेको बजेट अधिवेशन चल्न नदिने कांग्रेसको तयारी छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागसहित संसदमा प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरिरहेको समयमा सरकारले वैशाख २ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । संसद् अधिवेशन अन्त्य भए यता यसबारे सत्तापक्ष र कांग्रेसबिच संवाद हुन सकेको छैन ।
तर, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकार संसदीय छानबिन समितिसहित वैशाख २८ गते संसद् बैठकमा आउने विश्वास राख्छन् । ‘अस्ति संसद् बन्द गरेर सरकार भागेको थियो,’ उनले भने, ‘प्रतिपक्षले उठाएको कुरालाई सरकारले गम्भीर रूपमा लिएको होला भन्ने ठान्छौँ । संसदमा सरकारले संसदीय छानबिन समिति लिएर आउँछ भन्ने हाम्रो विश्वास छ ।’
संसदीय छानबिन समितिका लागि सत्ता पक्ष तयार नभएसम्म संसद् सहज ढङ्गले अगाडि बढ्न नसक्ने महामन्त्री शर्माको भनाइ छ । ‘सरकारको नीति, कार्यक्रम, बजेटमा हाम्रो केही अवरोध हुँदैन । तर, संसदीय छानबिन समिति बनाउने हाम्रो मागबाट ब्याक हुने सम्भावना छैन,’ उनले भने ।
वैशाख २८ अघि संसदीय दलको बैठक बसेर बजेट अधिवेशनबारे कांग्रेसले रणनीति बनाउने छ ।
नेता शेखर कोइरालाले पनि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने बताए । सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले संसदीय छानबिन समिति बनाउन डराउनुले आशङ्का पैदा गरेको उनको भनाइ छ । ‘सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता रहेको पर्याप्त प्रमाण छ । संसदीय छानबिन समिति बनाउन डराउनुले पनि थप प्रस्ट पारेको छ । संसदीय छानबिन समिति गठन नभई संसद् चल्दैन,’ कोइरालाले भने ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दा बजेट अधिवेशनमा थप प्रखर ढङ्गले उठ्ने बताए । ‘गृहमन्त्रीजी जोडिएको सहकारी ठगीको विषय अब संसदीय छानबिन समितिभन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ,’ उनले भने ।
सहकारी ठगीमा गृहमन्त्री लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी माग्नुपर्ने लेखकको तर्क छ । ‘सहकारीबाट रित नपुर्याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन्, कुनै प्रमाण छैन, प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नु भएको थियो । प्रहरीको अनुसन्धानमा उहाँमाथि अभियोजन गरिएको छ । बजेट अधिवेशनमा यो मुद्दा थप पेचिलो बन्दै जान्छ,’ लेखक भन्छन् ।
यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि हुँदा प्रतिवादी नबनाइनु मजाकको हद भएको उनको भनाइ छ । ‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले यो–यो ग¥यो भनेर सबै लेखेको छ । तर, प्रतिवादी बनाइएको छैन । त्यस्तो पनि हुन्छ ? त्यही प्रहरी भन्दैछ– को रवि लामिछाने हो, थाहा भएन ! सहकारी ठगी गर्ने रवि लामिछाने को हो भनेर खोज्न पनि संसदीय समिति अनिवार्य भइसक्यो,’ लेखक भन्छन् ।
यसअघि गत फागुन २४ मा कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदमा पहिलो पटक प्रश्न उठाएको थियो । फागुन ३० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा पनि कांग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठायो । बैठकको आरम्भमा कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले गृहमन्त्रीको राजीनामा माग गरेकी थिइन् । सोही दिन महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा लामिछानेलाई नैतिकताको कसी देखाए ।
कांग्रेसले चैत लागेपछि लगातार सहकारी ठगीमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न उठाउँदै संसदीय छानबिन समितिको माग गर्यो । चैत १ मा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, चैत २ मा सांसद प्रदीप पौडेल, चैत ३ मा महामन्त्री गगन थापा र चैत ६ मा सांसद दीपक गिरीले एउटै माग राखे– लामिछानेबारे प्रधानमन्त्रीको जवाफ ।
चैत २ को बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिँदा कांग्रेसले बेल घेराउ गरेको थियो । चैत ६ मा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीमा छानबिन आवश्यक नभएको जवाफ दिएपछि कांग्रेस थप आक्रोशित बनेको छ । सोही दिन प्रधानमन्त्रीको जवाफको प्रमुख सचेतक लेखकले काउन्टर गरेका थिए ।
चैत ७ मा सांसद ईश्वरी न्यौपानेले संसदीय छानबिन समिति गठनको मागलाई थप बुलन्द पारिन् । त्यसपछि चैत १८ मा बसेको बैठकमा सांसद सञ्जय गौतम, १९ मा प्रतिमा गौतम, २० मा रामकृष्ण यादव र २१ मा महामन्त्री शर्माले सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको औचित्य पुष्टि गर्ने प्रयास गरे । यसबिचमा बैठकको शून्य समयमा बोल्ने कांग्रेसका अधिकांश सांसदको निसाना लामिछानेमाथि हुन्थ्यो ।
चैत २१ मा महामन्त्री शर्माले संसदीय छानबिन समितिको माग वैकल्पिक नभएको भन्दै लामिछानेमाथि नरम ढङ्गले निर्मम प्रश्न उठाएका थिए । चैत २७ मा संसदीय दलको बैठकबाट कांग्रेसले सहकारी ठगीमा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको संस्थागत निर्णय लिएको थियो । कांग्रेस संस्थागत रूपमै संसदीय छानबिन समिति गठनको पक्षमा उभिएपछि वैशाख २ मा सरकार संसद् अधिवेशन अन्त्य गर्न बाध्य भएको थियो ।
वैशाख ३ मा गृहमन्त्री लामिछानेलाई अभियोजन गरी प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएपछि परिस्थिति फेरिएको छ । यद्यपि प्रहरीको अनुसन्धानमा लामिछानेको नाम सहकारीको रकम अपलनमा देखिए पनि प्रतिवादी बनाइएको छैन ।
फागुन २१ गते एमाले, माओवादी केन्द्र, रास्वापसहितको नयाँ गठबन्धन बनेपछि रास्वपाका नेताहरूभन्दा पनि अघि बढेर एमालेका नेताहरूले लामिछानेको बचाउ गर्दै आएका थिए । तर, बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको आरोपपत्रमा लामिछानेले २ करोड ऋण लिएको तथ्य—प्रमाण देखिएपछि सत्ता गठबन्धनमा पनि अलमल देखिन्छ । सत्ता साझेदार जनता समाजवादी पार्टी र एकीकृत समाजवादी भने लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने पक्षमा छन् । रातोपाटि


