व्यवसायी र ग्राहक एकअर्काका परिपूरक हुन्, दुवैको हितमा काम गर्नुपर्छ : युवा व्यवसायी मल्ल
दिनेश ठाकुर, नेपालगन्ज, २१ असोज — नेपाल उद्योग व्यापार महासंघ नेपालगन्ज नगर समितिका महासचिव तथा मानसरोवर ट्रेडर्सका सञ्चालक चक्र बहादुर मल्लले व्यवसायी र ग्राहक एकअर्काका परिपूरक भएकाले दुवैको हितलाई केन्द्रमा राखेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ।
नेपालगन्जका युवा व्यवसायी मल्लले बजारको दिगो विकास, व्यापारिक वातावरणको सुधार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यवसायी र उपभोक्ताबीच विश्वास र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको हो।
उहाँले उपभोक्ताको सन्तुष्टि नै व्यवसायको मुख्य आधार भएको बताउँदै व्यवसायीले गुणस्तरीय वस्तु, उचित मूल्य र मर्यादित सेवा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
मल्लले भन्नुभयो, “ग्राहकबिना व्यवसायको परिकल्पना गर्न सकिँदैन। त्यसैले ग्राहकलाई गुणस्तरीय वस्तु र मर्यादित सेवा सुलभ मूल्यमा उपलब्ध गराउनु हामी व्यवसायीको पहिलो कर्तव्य हो। अर्कोतर्फ, व्यवसायी सुरक्षित र उत्साहित नभएसम्म बजारले गति लिन सक्दैन।”
उहाँका अनुसार पछिल्लो समय विभिन्न आर्थिक चुनौतीका कारण व्यवसाय क्षेत्र प्रभावित भए पनि स्थानीय बजारलाई चलायमान बनाउन व्यवसायीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आवश्यक छ। व्यवसायी र उपभोक्ताबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै बजारमा विश्वासको वातावरण निर्माण गर्न सके त्यसको सकारात्मक प्रभाव समग्र अर्थतन्त्रमा पर्ने उहाँको भनाइ छ।
महासचिव मल्लले स्थानीय बजारको प्रवर्द्धन तथा व्यवसायीका समस्याका विषयमा नेपाल उद्योग व्यापार महासंघले सम्बन्धित पक्षसँग निरन्तर समन्वय गर्दै आएको जानकारी दिनुभयो। उहाँले व्यवसायीका समस्या समाधानसँगै उपभोक्ताको हित संरक्षणलाई पनि प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो।
मल्लले स्थानीय व्यवसायप्रति उपभोक्ताको विश्वास कायम राख्न व्यवसायीले गुणस्तर, मूल्य, सेवा र व्यवहारमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले स्थानीय बजारबाटै सामान खरिद गरी स्वदेशी व्यापार तथा स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न उपभोक्तालाई आग्रहसमेत गर्नुभयो।
“स्थानीय बजार बलियो भए मात्र स्थानीय व्यवसाय र रोजगारी बलियो हुन्छ। त्यसैले व्यवसायी र ग्राहकबीच विश्वासको सम्बन्ध कायम गर्दै दुवैको हित हुने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ,” मल्लले भन्नुभयो।


