बाँकेका उद्योग–व्यवसायका समस्या समाधान गर्न ३१ बुँदे माग उद्योग वाणिज्य संघका अध्यक्ष ओलीद्वारा संसदीय समितिसमक्ष ज्ञापनपत्र
दिनेश ठाकुर, नेपालगञ्ज, असोज २० — नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँके जिल्लाको आर्थिक तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसमक्ष ३१ बुँदे माग प्रस्तुत गर्नुभएको छ।
सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले बाँकेका उद्योगी–व्यवसायीले भोग्दै आएका विभिन्न समस्या, चुनौती तथा नीतिगत कठिनाइबारे समितिको ध्यानाकर्षण गराउनुभएको हो।
अध्यक्ष ओलीले कर तथा राजस्व नीति, भन्सार, बैंकिङ कर्जा, उद्योगको उत्पादन लागत, सीमावर्ती व्यापार, पूर्वाधार विकास तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउनुभएको बताइएको छ।
बाँके नेपालको प्रमुख व्यापारिक तथा सीमावर्ती जिल्ला भएकाले यहाँको उद्योग–व्यवसाय क्षेत्रको विकासका लागि राज्यका नीति तथा कार्यक्रम थप व्यावहारिक र व्यवसाय मैत्री हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो।
उहाँले बैंकिङ कर्जामा देखिएका समस्या, उद्योग सञ्चालनमा बढ्दो उत्पादन लागत, भन्सार तथा राजस्व सम्बन्धी जटिलता र सीमावर्ती बजारसँगको प्रतिस्पर्धाका कारण स्थानीय उद्योगी–व्यवसायी प्रभावित भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि आवश्यक नीतिगत पहल गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी, बाँकेको औद्योगिक तथा व्यापारिक गतिविधिलाई विस्तार गर्न आवश्यक पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन तथा सीमावर्ती व्यापारलाई व्यवस्थित र सहज बनाउने विषयमा समेत उहाँले संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ।
कार्यक्रममा अध्यक्ष ओलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीलाई बाँकेका उद्योगी–व्यवसायीका समस्या तथा माग समेटिएको ३१ बुँदे ज्ञापनपत्र समेत बुझाउनुभएको थियो।
कार्यक्रममा उद्योग मन्त्री दीपक कुमार शाह, उद्योग मन्त्रालयका सचिव, महानिर्देशक लगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
ज्ञापनपत्र मार्फत प्रस्तुत मागहरूलाई संसदीय समितिले अध्ययन गरी सम्बन्धित निकाय मार्फत समस्या समाधानका लागि आवश्यक पहल गर्ने अपेक्षा नेपालगञ्ज उद्योग वाणिज्य संघले गरेको छ।


