२० आश्विन २०८३, मंगलवार

भेरी साहित्य समाजको अध्यक्षमा साहित्यकार मिना बराल सर्वसम्मत

एसीपी संवाददाता

२१ आश्विन २०८३, बुधबार ०१:३७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, असोज १९ — भेरी साहित्य समाज केन्द्रीय समितिको २४औँ साधारण सभा तथा ८औँ अधिवेशनले साहित्यकार मिना बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। असोज १७ गते शनिबार सम्पन्न अधिवेशनले साहित्य, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल तथा उपाध्यक्षमा महेन्द्र चन्द ‘महासागर’, डा. चक्रप्रसाद अधिकारी र भरतबहादुर रानाभाट सर्वसम्मत चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा सुन्दर गुरुङ, सचिवमा पुष्पमणि प्रधान र कोषाध्यक्षमा तारा रोकाया चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा चन्द्रावती अधिकारी, सतानन्द उपाध्याय, पुष्पा सुवेदी, कविराज रेग्मी, मिना ढकाल, अन्तरिक्ष देवकोटा, पूर्ण समीर महतारा, दिपेन्द्रबहादुर सिंह, देवलाल चौलागाईं, नरुल हसन राई र खगेन्द्रप्रसाद नेपाल रहनुभएको छ।

अधिवेशनले नेपाली साहित्यको विकासमा भेरी क्षेत्रले पुर्‍याउँदै आएको योगदानलाई थप संस्थागत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने, स्रष्टाको सम्मान गर्ने तथा साहित्यिक सिर्जनाको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताइएको छ।

साहित्यकार हरिप्रसाद तिमिल्सिनालाई नागरिक अभिनन्दन
अधिवेशनको अवसरमा साहित्यकार हरिप्रसाद तिमिल्सिनालाई नागरिक अभिनन्दनसहित विशेष सम्मान गरिएको थियो। साहित्य क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै अभिनन्दन तथा सम्मान अर्पण गरिएको हो।

त्यसैगरी वाणी श्री मल्ल/बखतबहादुर मल्ल, महेन्द्रप्रसाद गिरी, पंकजकुमार श्रेष्ठ, भीम/भरत रानाभाट र पुष्पमणि प्रधानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि सनत रेग्मी, विशिष्ट अतिथि कृष्णप्रसाद घिमिरे तथा कार्यक्रमका अध्यक्ष इन्द्रबहादुर बस्नेतले सम्मान गर्नुभएको थियो।

अधिवेशनमा साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले भेरी साहित्य समाज साहित्यिक गतिविधि सञ्चालन गर्ने संस्था मात्र नभई समाजको चेतना, भाषा, संस्कृति र सिर्जनशीलतालाई जीवन्त राख्ने महत्वपूर्ण साझा मञ्च भएको धारणा व्यक्त गरेका थिए।

नवनिर्वाचित कोषाध्यक्ष तारा रोकायाले आफूलाई गरिमामय जिम्मेवारीमा विश्वास गरेर सर्वसम्मत चयन गरेकोमा भेरी साहित्य समाजका अग्रज साहित्यकार, स्रष्टा, प्रतिनिधि तथा सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत सम्मानका रूपमा मात्र नभई संस्थाप्रतिको जिम्मेवारी र विश्वासका रूपमा ग्रहण गरेको बताउँदै भेरी क्षेत्रको साहित्यिक गतिविधिलाई थप गतिशील बनाउन इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रोकायाका अनुसार नयाँ कार्यसमितिले संस्थागत विकास, नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने कार्यक्रम, स्रष्टाको सम्मान तथा साहित्यिक सिर्जनाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाउनेछ।

भेरी साहित्य समाजको २४औँ साधारण सभा तथा ८औँ अधिवेशनले नयाँ नेतृत्वसँगै भेरी क्षेत्रको साहित्यिक यात्रामा थप ऊर्जा र सक्रियताको सन्देश दिएको छ। अनुभवी साहित्यकारको मार्गदर्शन तथा नयाँ पुस्ताको सिर्जनशीलतालाई एकीकृत गर्दै समाजलाई अझ सक्रिय, समावेशी र प्रभावकारी साहित्यिक संस्थाका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x