धर्म धारण गर्ने तत्त्व हो कि प्रचार गर्ने सामग्री ? यो विषयमा विश्व समुदाय सधैँ विभक्त नै छ । बौद्ध, क्रिश्चियन, इस्लाम सबै प्रचार सामग्री बोकेरै विश्व भ्रमण गरेको इतिहास हाम्रासामु छर्लङ्ग छ । त्यसको सापेक्ष सनातन हिन्दु धर्मको विशेषता भनेको धार्मिक सहिष्णुता नै हो ।
विश्व समुदाय प्रविधिको विकाससँगै डिजिटल युगमा छ । यही बेला प्रसारवादलाई सम्झनैपर्छ । प्रसारवाद भन्नाले कुनै पनि वस्तु वा प्रक्रिया खास सन्दर्भमा उत्पन्न भएर परिवर्तन हुँदै जाँदा अन्यत्र फैलिँदै जाने गर्छ । त्यसको इतिहास ब्रिटिस शासनकला पनि थियो ।
भारतमै पनि मोदी गुजरातमा उत्पन्न भएर पूरै भारतहुँदै विश्वभरि फैलिएको एउटा प्रसारवादको राजनीतिक उदाहरण हो । चिनियाँ शासक सी चिनफिङको जस्तो विकास मोडेलका केही गुणहरू मोदीको विकास मोडेलमा अन्तरघुलित पनि छन् । गुजरातको विकास मोडेल त्यसको एउटा गतिलै उदाहरण हो ।
खासगरी, भौतिक तथा अभौतिक प्रक्रियाहरू कुनै एक ठाउँबाट अर्को ठाउँमा फैलिने प्रक्रिया नै प्रसारवाद हो । जसले सांस्कृतिक तत्त्व वा गुणहरूलाई समेत फैलाउँदै लैजान्छ भन्ने मान्यता बोक्छ । प्रसारवादका बारेमा म्याकमिलियन डिक्सनरी अफ एन्थ्रोपोलोजी, १९८६ लाई हामी आधार मान्न सक्छौँ ।
अहिलेको समयलाई फेरि धर्मका नाममा ध्रुवीकरण गर्ने प्रयास भारतका लागि जोखिमपूर्ण पनि हुन सक्छ, अथवा फलदायी पनि । यो भारतीय शासकहरूका लागि सोचनीय विषय होला । सयौँ करोडको आवादीमा केवल एउटा धर्म र सम्प्रदायप्रति झुकाव राख्ने गरी सरकारले काम गर्नु कति हितकर वा संवेदनशील हुन्छ ? त्यहाँको समाजले भविष्यमा पनि बताउँदै जाला ।
मलाई मानवशास्त्री मोर्गानले भनेको कुरा सम्झन मन लाग्यो- ‘मानव प्रगतिको गति जगंलीस्तरमा कम भएको भए पनि त्यसको मात्रा उच्च थियो ।’
अहिले यो भनाइलाई कसरी संश्लेषण गर्ने हो भन्ने प्रश्न विश्व समुदायका अघिल्तिर तेर्सिएको छ ।
मोर्गानले भनेअनुसार नै मान्ने हो भने मानव प्रगतिको अनुपात तीन चरणमा हेर्न सकिन्छ । समाज र संस्कृति उद्विकासका तीन चरण– जगंली अवस्था, बर्बरता र सभ्यताको अवस्था । यो हिसाबले जंगलीस्तरबाट सभ्यताको स्तरमा आइपुग्दा मानव प्रगतिको गति ज्यामितीय रूपमा बढ्दै आएको हो ।
पछिल्लो दशक विश्व समुदाय ट्र्म्पशैलीदेखि बाइडेन एरा, मोदी जगत्हुँदै सी चिनफिङको बाटो भएर युक्रेन, रसिया, उत्तर कोरियामा केन्द्रित छ । त्यसमाथि पवित्र भूमिका नाममा प्यालेस्टाइन र इजरायल पनि छ । आफ्नो विकासका लागि गर्व गर्ने युरोप आफ्नो उत्पादन र मुद्राका कारण दलदलमा छ । यता एसिया त्यसमाथि पनि दक्षिण एसियाको बजार र जनसंख्या सबैको नजरमा छ ।
यसैबीच, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देश भारतमा हिन्दुत्वको उभार आएकोमा बाँकी विश्व के भन्छ भनेर कान ठाडो पारेर बसेको छ ।
भारतमा मोदीको उदय त्यहाँको जन संघ, राष्ट्रिय स्वयंसेवक र भारतीय जनता पार्टीको लगानीको प्रतिफल हो । भलै लालकृष्ण आडवाणीसहितका कैयौँ नेताहरू चुपचाप बस्ने परिस्थिति गोवाबाट सुरु भयो । भाजपाको गोवा सम्मेलनबाटै मोदी पीएम क्यान्डिडेट चुनिएका थिए । भाजपाको मूल पार्टीको नीति र त्यसको संगठन ढाँचालाई अतुलनीय सफलता हासिल भएको देखिन्छ ।
मोदी नेतृत्वको भारतले आफ्नो दोस्रो कार्यकालसम्म आइपुग्दा आफूले गरेका काम र आफ्नो प्रचार शैलीले विश्व समुदायलाई माथ दिइरहेको छ । भारतमा मात्रै होइन, विश्वभरि नै उनको लोकप्रियताको सूचक उकालो लागिरहेकै छ ।
हिन्दु धर्म, हिन्दुत्व र सनातनीहरूका लागि मोदीप्रतिको जनस्तरको लगाव भारतमा यसअघि कसैले आर्जन गर्न सकेका थिएनन् भन्ने कुरालाई नकार्न मुस्किल नै छ । सँगसँगै मोदीको व्यक्तित्व र भाजपाको विकास ज्यामितीय देखिन्छ । साथै, उनको गतिमा पनि कुनै ह्रास आएको देखिँदैन ।
भारतको अयोध्याकेन्द्रित श्रीराम मन्दिर प्राणप्रतिष्ठा यस्तो समयमा भइरहेको छ कि यसलगत्तै भारतमा तल्लो सदन लोकसभाको चुनाव हुनेछ । राजनीतिक रूपमा लाभ र हानिका कुरा केही हदसम्म अघि बढिसकेका छन् ।
अलिकति गिजोलिएको विषय भनेको सनतान हिन्दु धर्मको उच्च पद मानिने शंकराचार्यहरूको भनाइ हो । शंकराचार्यहरूले उठाएको शास्त्रार्थ र विधिको कुरा तर्कसंगत छ भन्ने हिन्दुत्वको जनमत पनि छ । श्रीराम मन्दिर निर्माणको आवाज उठाउनेहरू सुरुवाती चरणमा गोरखनाथपीठसँग सम्बन्ध राख्नेहरू थिए । तिनैमध्येका एक महन्त योगी आदित्यनाथ उत्तर प्रदेशको नेतृत्वमा पुगेका छन् ।
प्रधानमन्त्री मोदी श्रीराममन्दिर निर्माणको श्रेय भाजपाको खातामा डिपोजिट गराउन खोज्दै छन् । एउटा सानो वर्ग भने यो श्रेय जनताको बलिदानीबाट आएको हो भन्नेमा विश्वास गर्छ ।
तर, शंकराचार्यहरूले उठाएको विषयलाई भारतको विपक्षीले जोडदारका साथ उठाउन सकिरहेको अवस्था छैन । कतिपय अवस्थामा धर्मलाई राजनीतिसँग नजोड्ने कडीका रूपमा समेत विपक्षीहरूले धैर्यता देखाएको हुन सक्ने आकलन पनि भइरहेका छन् ।
यद्यपि भारतको अयोध्याको बाबरी मस्जिद र श्रीराम मन्दिर त्यहाँको सधैँ राजनीतिको केन्द्रमा रहँदै आएको विषय हो ।
अयोध्यामा ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद तोडिएको थियो । भारतीय जनता पार्टीको सरकार थियो उत्तर प्रदेशमा । कल्याण सिहं मुख्यमन्त्री थिए । बाबरी मस्जिद ध्वस्त भएपछि उनले पदबाट राजीनामा दिए । ७ डिसेम्बरमा प्रधानमन्त्री पीभी नरसिंह रावले उत्तर प्रदेशमा रहेको कल्याणसिंहको सरकार बर्खास्त गरिदिएका थिए ।
सन् १९५१ मा भारतकै गुजरातमा सोमनाथ मन्दिरको उद्घाटनको विषयलाई फर्केर हेर्न सकिन्छ । उतिबेला भारतमा प्रधानमन्त्री थिए पण्डित जवाहरलाल नेहरू । अनि राष्ट्रपति थिए डा. राजेन्द्र प्रसाद । ११ मे सन् १९५१ मा सोमनाथ मन्दिरको उद्घाटन भयो । नेहरू मन्दिर उद्घाटनमा राष्ट्रपति नजाऊन् भन्ने चाहन्थे । तर, राष्ट्रपति डा. राजेन्द्र प्रसाद त्यहाँ गएका थिए ।
भारतका विपक्षी दलहरूको तर्क छ कि यो अदालतको निर्णयमा बनेको मन्दिर हो । उता शंकराचार्यहरूले मन्दिर निर्माणमा धर्मको रक्षा शंकराचार्यका चार पीठले गरेको दलिल दिइरहेका छन् । अनि प्रधानमन्त्री मोदी मन्दिर निर्माणको श्रेय भाजपाको खातामा डिपोजिट गराउन खोज्दै छन् । एउटा सानो वर्ग भने यो श्रेय जनताको बलिदानीबाट आएको हो भन्नेमा विश्वास गर्छ ।
यी त सबै भारतकेन्द्रित कुरा भए । यी विषयका बाछिटा नेपालसम्म आइरहेको परिवेश छ । भारतमा बनिरहेको श्रीराम मन्दिरको चर्चा हिन्दुत्वका आधारमा नेपालमा पनि भइरहेको छ । जनस्तरमा त्यहाँ नेपालीको सहभागिता धार्मिक विश्वासका आधारमा त पक्कै हुनेछ । तर, कतिपय अवस्थामा यसले राजनीतिक रङ पक्रन सक्ने अवस्था पनि छ । जनस्तरमा तराई-मधेशका कतिपय नेपाल-भारत सीमाक्षेत्रमा यसका प्रभावहरू देखिन पनि थालेका छन् । कतिपय स्थानीय तहहरूले श्रीराम मन्दिर प्राणप्रतिष्ठाका दिन सार्वजनिक बिदासमेत घोषणा गरिरहेका खबरहरू आएका छन् । अनि कतिपय धार्मिक संगठनहरू श्रीराम मन्दिर प्राणप्रतिष्ठालाई नेपाल र भारतको धार्मिक, पौराणिक, सांस्कृतिक विकासका नजरबाट अनुशरण गरिरहेका छन् ।
श्रीराम जन्मभूमि ट्रस्टले निर्माण कार्यको नेतृत्व लिएको छ । करिब १८०० भारतीय रूपैयाँको लगानी रहने अनुमानमा अयोध्यामा मन्दिर निर्माण सुरु भएकोमा त्यो रकम बढ्ने बताइएको छ । यो रकम सबै चन्दास्वरूप संकलन भएको हो । स्वतस्फुर्त दिइएको दान र चन्दा लागत खर्चको दोब्बर उठिसकेको छ । करिब १ हजार करोड भारतीय रूपैयाँ खर्च भएको ट्रस्टले जनाइसकेको छ ।
इन्फ्रास्ट्रक्चर सेक्टरमा ख्यातिप्राप्त साेमपुरा आर्किटेक्टले यसको डिजाइन र लार्सन एन्ड टुब्रोले निर्माणको जिम्मा लिएको छ । डेनमार्कबाट आएका दुई इन्जियरले सन् १९४६ मा यो कम्पनिक मन्दिरको स्थापना गरेका थिए । यही कम्पनीले अयोध्याको श्रीराममन्दिर, गुजरातमा नर्मदा नदीतटमा सरदार वल्लभ भाइ पटेल स्ट्याचु अफ युनिटी, गुजरातमै नरेन्द्र मोदी रङ्गशाला र हालै सञ्चालनमा आएको मुम्बईको अटल सेतु पुल निर्माण गरेको हो । त्यसैगरी, टाटा कन्सल्टिङ इन्जिनियर्स कम्पनीले कन्सल्टेन्सीको काम गरिरहेको छ ।
यसरी एउटा छिमेकी राष्ट्रमा भइरहेका विभिन्न विकासक्रमले यस क्षेत्रको राजनीतिक केन्द्रमा प्रसारवादलाई टेवा दिइरहेको अनुभूति गर्न सक्ने आधार पर्याप्त छन् । त्यसमाथि भारतको संघ सञ्चालक, आरएसएस र भाजपाले आफ्ना गतिविधिलाई रणनीतिक तहबाट गर्ने प्रचारप्रसारका नमुना लगातार पटाक्षेप भइरहेका परिदृश्य हाम्रा अघिल्तिर ‘होरिजेन्ट्ली र भर्टिकल्ली’ आइरहेका छन् । भू-राजनीतिक रूपमा हुने यस खालका पटाक्षेपमा हामी पनि चाहेर वा नचाहेर साक्षी भइरहेका हुन्छौँ ।