२१ रमजान: नेपालगंजमा इफतार कार्यक्रम सम्पन्न
नुर मोहम्मद अन्सारी
नेपालगंज, बाँके – इस्लामी इतिहासको एक महत्वपूर्ण दिन, हजरत अली (अ.) को शहादत दिवसको अवसरमा नेपालगंज-६, रामनगर, बाँकेमा विशेष इफतार कार्यक्रम सम्पन्न भएको छ। 
शनिवार, २०८१ चैत्र ९ गते, रामनगर मुस्लिम मोहल्लाको आयोजनामा गरिएको यस कार्यक्रममा करिब ४०० जना रोजादारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका विशेष अतिथि डा. जैनुल आबेदिन, पत्रकार नूर मोहम्मद अन्सारी, मौलाना शाकिर लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 
कार्यक्रममा धार्मिक प्रवचन, हजरत अली (अ.) को शिक्षाबारे चर्चा तथा दुआ कार्यक्रम आयोजना गरियो। वक्ताहरूले हजरत अली (अ.) को न्याय, दयालुता, तथा बलिदानको महत्त्वबारे चर्चा गर्दै समाजमा शान्ति, भाइचारा र आपसी सद्भावको आवश्यकता औंल्याए।
इफतार कार्यक्रममा सहभागीहरूले सामूहिक रुपमा रोजा खोलेर धार्मिक एकता र भाइचारा प्रकट गरे। आयोजक रामनगर मुस्लिम मोहल्लाका प्रतिनिधिहरूले भविष्यमा पनि यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।



