३२ असार २०८३, बिहीबार

अधिकांश विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र फर्मासिस्टहरु सञ्जीवनी कलेजमा आवद्ध !

एसीपी संवाददाता

२४ माघ २०८१, बिहीबार १९:२८ मा प्रकाशित

नेपालगन्जः लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले कोहलपुरमा मात्रै टिचिङ अस्पतालको रुपमा संचालन गर्ने निर्णय गरेसँगै लर्डबुद्धमा आवद्ध कर्मचारीहरु राजिनामा दिएर नेपालगन्जको वीपी चोकमा रहेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा आवद्ध हुन थालेका छन् । साविक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत अधिकांश विशेषज्ञ चिकित्सकहरु, मेडिकल अधिकृतहरु र फर्मासिस्टहरु लर्डबुद्धबाट राजिनामा दिएर सञ्जीवनीमा आवद्ध भएका छन् ।

आजसम्म करिव डेढ सय जनाले सञ्जीवनीको नियुक्त पत्र बुझीसकेको व्यवस्थापन पक्षले जानकारी दिएको छ । यही माघ २२ गते सञ्जीवनी कलेजमै काम गर्ने भए इच्छुक कर्मचारीहरुलाई तीन दिन भित्र निवेदन दिन सञ्जीवनीले सूचना समेत जारी गरिसकेको छ । सञ्जीवनीको व्यवस्थापन पक्ष भन्छ–‘हामीले कुनैपनि कर्मचारीलाई जागिर छोड्न भनेका छैनौं । तर संस्थाको विधि विधानमा रहेर आफ्नो जिम्मेवारी कूशलतापूर्वक निर्वाह गर्नुस् भन्ने हो ।’

बैधानिक रुपमै लर्डबुद्धसँग साविकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अलग भएर सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि भइसकेपछि यहाँका कर्मचारीहरुको व्यवस्थापन गर्नु भनेर लर्डबुद्धलाई एक महिनाको समय दिइएको सञ्जीवनी कलेज व्यवस्थापन पक्ष बताउँछ । ‘तर त्यो भन्दैमा हामीले कर्मचारीहरुको व्यवस्थापन गर्दैनौ भनेको होइन सञ्जीवनी कलेजका प्रमुख कार्यकारी अधिकृत डा.नितेश कुमार कनोडिया भन्छन्–‘काम गर्न चाहने इच्छुक कर्मचारीलाई निवेदन दिन सार्वजनिक सूचना जारी गरेका छौं । आवेदन प्राप्त भएका कर्मचारी मध्ये लर्डबुद्धसँग समन्वय तथा सञ्जीवनी कलेजको दरवन्दीको आधारमा छनौट गरिन्छ ।’

अस्पतालको सेवासुविधा विरामीमैत्री बनाउँदै अस्पतालमा शैक्षिक गतिविधिहरुलाई चलायमान बनाउँदै स्वास्थ्य क्षेत्रमा सञ्जीवनीले नयाँ आयाम थप्ने विश्वास गरिएको छ । तथापि केही राजनीति दलमा आवद्ध भएका कर्मचारीहरुको उक्साहटका कारण अहिले पनि सञ्जीवनी कलेज परिसरमा गैरजिम्मेवार आन्दोलन भइरहेको छ । नर्सिङ स्टाफ, प्यारामेडिक्स लगायतका कर्मचारीहरुलाई मोहडा बनाएर दल आवद्ध कर्मचारीहरुले आफ्नो स्वार्थ पूर्तिका लागि आन्दोलन गरिरहेका छन् ।

श्रम ऐन २०७४ को दफा १४५ मा श्रमिक कटौती गर्न सक्ने व्यवस्था समेत गरेको छ । प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरु गाभिएको कारण श्रमिक संख्या बढी भएमा वा अन्य कुनै कारणले प्रतिष्ठान आंशिक वा पूर्णरुपमा बन्द गर्नु पर्ने भएमा रोजगारदाताले श्रमिकको संख्यामा कटौती गर्न सकिने ऐनमा व्यवस्था गरिएको छ । अहिलेको परिस्थिति भनेको नेपालगन्ज मेडिकल कलेज बन्द भए सरह हो ।

साविकको नेपालगन्ज हस्पिटल रिसर्च एण्ड टे«निङ सेन्टर प्रालिसँग लर्डबुद्धले २०५७ सालमा लिजमा लिएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज सञ्चालन गरेको थियो । तर गएको साउन महिनादेखि लर्डबुद्धले कोहलपुरमात्रै मेडिकल कलेज संचालन गर्ने भएपछि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि (साविक नेपालगन्ज हस्पिटल रिसर्च एण्ड टे«निङ सेन्टर प्रालि)ले नयाँ व्यवस्थापनका साथ सोही संरचनामा तीन सय शैयाको अस्पताल सञ्चालन गर्दैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x