अनुदानको ८ लाख चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी
चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ।
नेपाल वायुसेवा निगमले चैत ९ गते संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन १ लाख ८७ हजार ५३३ डलर ३३ सेन्ट लाग्ने उल्लेख गरिएको छ ।
अहिले १ अमेरिकी डलर बराबर ११६ रुपैँयाको हिसाव गर्दा पनि उक्त रकम २ करोड १७ लाख ५३ हजार ८६६ रुपैंया २८ पैसा हुन आउँछ ।
साथसाथै चिनमा रहेको विमानस्थललाई अतिरिक्त कार्गो हेण्डलिङ्ग शुल्क १ केजी बापत चिनियाँ युयान १ बुझाउनुपर्ने भएकाले थप रकम लाग्छ । उक्त पत्रमा कार्गोको तौल उल्लेख नभएको हुनाले यसको एकिन हिसाब निकाल्न असजिलो छ । एक चिनयाँ युयान बराबार १७ रुपैँया ७८ पैसा विनिमय दर छ । यो शीर्षकमा पनि ठूलो रकम खर्च हुने देखिएको छ ।
त्यस्तै निगमले सबै मुल्यमा १३ प्रतिशत भ्याट लाग्ने उल्लेख गरेको छ । यसरी हिसाव गर्दा ८ लाख कोरोना खोप नेपाल ल्याउन मात्रै अढाई करोड भन्दा बढी रकम खर्च हुने देखिएको हो ।
चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकार चीनबाट खोप ल्याउन बिशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले बताएको छ। चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागि निगमको जहाज १५ गते उडान भर्ने छ।
नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ। यद्यपि चिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको स्रोतको दावी छ । सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध नगराएको परराष्ट्र मन्त्रालय स्रोतको दावी छ ।
यसअघि भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा नेपाल ल्याई दिएको थियो। केटीएमदैनिक


