अमेरिकाको बिटो पावरले तर्सियो गाजा समेत मुस्लिम देशहरु
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् ।
‘अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तरराष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लङ्घन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ,’ अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सुरक्षा परिषदको विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको छ । अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकता भन्दा टाढा रहेको’ र यसलाई अगाडि बढाउन नहुने बताएका थिए ।
इजरायलले भिटोको प्रशंसा गरेको छ, तर ‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफूलाई ‘गम्भीर रूपमा निराश’ बनाएको बताएको छ ।


