इरानको आन्तरिक राजनीतिमा तीव्र सत्ता संघर्ष सुरु
अमेरिकासँग भएको युद्धविराम सम्झौतालाई लिएर इरानको आन्तरिक राजनीतिमा तीव्र सत्ता संघर्ष सुरु भएको छ। देशका कट्टरपन्थी समूहले राष्ट्रपति मसूद पजशकियान र विदेश मन्त्री अब्बास अराघचीमाथि राष्ट्रिय सिद्धान्तहरूसँग सम्झौता गरेको आरोप लगाएका छन्।
कट्टरपन्थीहरूको दाबी छ कि अमेरिकासाग सम्झौता गर्ने नेताहरूले सत्ता कब्जा गर्ने प्रयास गरिरहेका छन् र यो एक प्रकारको ‘कू’ (प्रतिगामी कदम) हो।
गत साता तेहरानमा सर्वोच्च नेता अली खामेनेईको अन्त्येष्टिका क्रममा यो आक्रोश छताछुल्ल भयो। राष्ट्रपति पजशकियान खामेनेईको शवयात्रामा सहभागी भइरहँदा केही मानिसहरूले उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए।
सोही क्रममा विदेश मन्त्री अब्बास अराघचीले पनि कडा विरोधको सामना गर्नुपर्यो। अमेरिकासँगको युद्धविराम वार्तामा मुख्य भूमिका खेलेका अराघचीमाथि भिडले ढुङ्गा प्रहार गर्दै “गद्दार” भन्दै नाराबाजी गर्यो। स्थिति यति तनावपूर्ण बन्यो कि उनले सुरक्षाका कारण त्यहाँबाट बाहिरिनुपर्यो।
कट्टरपन्थी सांसद महमूद नबावियानले सामाजिक सञ्जालमा लेख्दै प्रश्न गरेका छन्, “के इरानमा तख्तापलट हुन लागेको हो?” उनले खामेनेईको मृत्युको बदला लिनुको साटो सरकार सम्झौताको बाटोमा हिँडेको भन्दै आक्रोश पोखे।
अली खामेनेईको निधनपछि उनका छोरा र उत्तराधिकारी मोजतबा खामेनेईलाई नयाँ सर्वोच्च नेता मानिएको छ, तर उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। उनले न त देशलाई सम्बोधन गरेका छन्, न त सक्रिय नेतृत्व नै सम्हालेका छन्।
यस्तो अवस्थामा राष्ट्रपति पजशकियान, संसद अध्यक्ष मोहम्मद बाघेर गालीबाफ र विदेश मन्त्री अराघची नै सरकारका मुख्य अनुहार बनेका छन्। यही कारण कट्टरपन्थीहरूले तिनै नेताहरूमाथि सत्ता हत्याउने प्रयास गरेको आरोप लगाइरहेका छन्।अग्निबाण


