११ मंसिर २०८३, बिहीबार

कम्युनिस्टका दुबै पक्ष बैईमान हुन- राजनीतिक विश्लेषक एवं कानुनविद भीमार्जुन आचार्य

एसीपी संवाददाता

४ पुष २०७७, शनिबार १८:२४ मा प्रकाशित

राजनीतिक विश्लेषक एवं कानुनविद भीमार्जुन आचार्यले नेकपाको एकता प्राकृतिक नभएको टिप्पणी गरेका छन्। एक कार्यक्रममा बोल्दै आचार्यले देश र जनता भन्दा पनि आफ्ना स्वार्थहरुले नेकपा एकता सम्भव भएको बताएका हुन्।

आचार्यले भने, ‘उहाँहरुको एकता प्राकृतिक एकता थिएन। उहाँहरुको एकता स्वार्थको एकता हो। लेनदेनको एकता हो। आज एउटा स्वार्थ मिल्यो। उहाँहरुले कम्प्रोमाइज गर्नु भयो।’

आचार्यले दुई समूह नै बेइमानहरुको समूह भएको पनि बताएका छन्। उनले अध्यादेश फिर्ता गर्नको लागि भएको सहमतिले दुई समूहमा नै इमान नभएको भन्ने देखिएको बताए।

उनले भने, ‘दुईवटै समूह बेइमान थिए। दुवै गुटमा इमान थिएन। दुई वटै समूह देश र जनताको लागि काम गरेका थिएनन् आफ्नो स्वार्थको लागि काम गरेका थिए प्रमाणित भएको छ। यो सिद्धान्तको लडाई थियो भने एउटाले एक चिज छोड्ने अर्कोले एक चिज छोड्दा सहमति हुने भन्ने थियो र?’

आचार्यले आफ्नो स्वार्थपूर्तिको लागि अध्यादेश ल्याउने र फिर्ता गर्ने शृंखला उचित नभएको पनि बताएका छन्। यो संविधान र व्यवस्थाको प्रतिरक्षा गर्ने काम नेताहरुको भएपनि त्यो हुन नसकेको उनको गुनासो छ।

उनले भने, ‘संविधान माथिको प्रहार उचित कदापी होइन। त्यति बेला नेताहरुले धेरै आश्वासन बाढेका थिए। संविधानसभाबाट संविधान आएपछि यस्तो हुन्छ उस्तो हुन्छ। संघियता आयो भने यस्तो हुन्छ। नाङ्गो रुपमा उहाँहरुले भनेका कुराहरु गलत रहेछ भन्ने प्रमाणित हुदै छ।’

‘यो व्यवस्था र संविधानलाई प्रतिरक्षा गर्ने संविधानको नाममा सपथ खाएकाहरुले हो। अब उनीहरुले दिन दहाडै संविधान र व्यवस्थाको उल्लङ्घन गर्छन् भने यो व्यवस्थालाई बचाइदिने कसले?,’ उनले थपे।

आचार्यले अध्यादेश मुलुक प्रति चिन्ता भएर नल्याइएको पनि बताए। ‘मुलुक प्रति चिन्ता थियो। संवैधानिक निकायमा नियुक्तिको बारेमा चिन्ता भएको भए अध्यादेश फिर्ता लिने सहमति गर्नु हुदैन थियो नि,’ भन्दै आचार्यले थपे, ‘प्रधानमन्त्री र राष्ट्रपतिले यसको मूल्य चुकाउनु नै पर्छ।’

आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले अध्यादेश जारी गर्ने र फिर्ता गर्ने कुराको औचित्य पुष्टि गर्नु पर्ने माग पनि राखेका छन्। ‘हिजो के कारणले त्यो अध्यादेश आवश्यक थियो र आज एकै दिनमा त्यो अनावश्यक कसरी भयो? यो कुरा उहाँहरुले जनतालाई बताउनु पर्ने हुन्छ,’ उनले भने। नेपालदिपबाट साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x