२ श्रावण २०८३, शनिबार

कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको-प्रकाशमान

एसीपी संवाददाता

२४ कार्तिक २०७७, सोमबार १०:३१ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको आरोप लगाएका छन् ।

पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिस्टहरूले जनताबाट अत्यधिक मत पाएको, तर सत्तामा पुगेपछि अस्थिरता र भ्रटाचारबाहेक केही पनि दिन नसकेको उनले बताएका छन् ।

गणेशमान सिंहको १०६औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिलेपनि झन्डै दुईतिहाइको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताए ।

पहिलो संविधानसभामा जनताले म्यान्डेड दिए पनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेडविपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको उनले बताए ।

बालुवाटारको ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले आरोप लगाए ।

प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने, तर आफ्नै पार्टीका नेताहरू संलग्न भएका घोटलाहरूमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उनले बताए ।

कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटाला गरेको बताए ।

सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौँ भन्दै पछि हटेकोसमेत बताए ।

सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताए ।

सरकारले संघीयताको भावनाविपरीत एकपछि अर्को काम गरिराखेको आरोपसमेत नेता सिंहले लगाए ।

संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाइको रूपमा प्रदेश र स्थानीय तहलाई लिएको बताए ।

यस्तै नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताए ।

पार्टीभित्र देखापरेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने बताए ।

चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै चिन्ता व्यक्त गरे ।

कांग्रेसमा महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उनले बताए । नयाँपत्रीका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x