१२ मंसिर २०८३, शुक्रबार

काङ्ग्रेस प्रचण्डसँग लाग्दा फेरि पार्टी पत्तासाफ हुने खतरा

एसीपी संवाददाता

२८ चैत्र २०७७, शनिबार १४:११ मा प्रकाशित

माओवादीसँग गठबन्धन गरे सबैभन्दा ठूलो क्षति देउवालाई, प्रचण्डसँग लाग्दा फेरि पार्टी पत्तासाफ हुने खतरा
काठमाडौं । केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रतिपक्षी नेपाली कांग्रेसले अग्रसरता लिएको छ ।

सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा माओवादी केन्द्र र जसपाका नेताहरुलाई नयाँ सत्ता समीकरणका लागि छलफल गर्न आज बोलाएका छन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध विकल्प खोज्न देउवा पहिलोपटक मैदानमा उत्रिएका छन् ।

मैदानमा उत्रिएसँगै देउवासामु जोखिम पनि उत्तिकै छ । विगतमा आफूसँग गठबन्धन गरेको माओवादी सुटुक्क थाहै नदिइ एमालेसँग एकता गरेर धोका खाएका देउवा फेरि माओवादीसँगै गठबन्धन गर्न अघि सरेका छन् । जुन आफैमा ठूलो चुनौती हो । यदि गठबन्धन बन्न सकेन वा बनेर पनि चल्न सकेन भने देउवाजति अपजस अरु कसैलाई आउनेछैन भने यसको सिधा धक्का देउवा र उनको पार्टीलाई हुनेछ । देउवालाई पार्टीको महाधिवशेनमा क्षति हुनेछ भने पार्टीले आउँदो चुनावमा मूल्य चुकाउनुपर्नेछ ।

त्यसो त यो गठबन्धन नै सहज छैन । साझा वैचारिक आधार र पहिचान नभएको, खाली प्रतिगमन भनेर ओलीलाई हटाउने उद्देश्य राखेको गठबन्धन सबैभन्दा जटिल हुनेछ । एकपटक सरकार गठन भएपछि गठबन्धनले सामना गर्ने धेरै गम्भीर समस्याहरू हुनेछन् ।

यो प्रकारको गठबन्धन सरकारमा प्रधानमन्त्री (देउवा बाहेक) बन्न प्रयास गरिरहेका दुई उम्मेदवारबिच पर्दापछाडि प्रतिस्पर्धा चलिरहेको छ ।

मन्त्रीहरु र अन्य महत्वपूर्ण पदका लागि स्वार्थप्रेरित चर्को दौड हुनेछ जसले सभापति देउवाका लागि गम्भीर समस्या पैदा गर्नेछ। यदि यसरी गठबन्धनमा सहभागी सबैलाई खुसी राख्ने चक्करमा, भागवण्डामा देउवाको असक्षमतासँग जोडेर नकारात्मक छवि बन्नेछ।

अर्को भनेको देउवाको मधेसी विरोधी छवि पनि बन्नेछ। प्रधानमन्त्री ओलीले मधेसी मुद्दाहरुमा वार्ता सुरु गरिसकेका छन् । तराईका जनता र सीमान्तकृत समुदायहरु यो सकारात्मक सुरुवातबाट उत्साहित छन् । तर त्यसमा ब्रेक लाग्नेगरी नयाँ सरकार बनाउन देउवाले गठबन्धन गरे उनको छवि मधेसविरोधी बन्नेछ। मधेसी एजेण्डा सम्बोधनमा बाधकका रुपमा हेरिनेछ ।

अर्कोतिर प्रधानमन्त्री ओली माधव नेपाल समूह र जसपाका सांसदको प्रत्यक्ष सम्पर्कमा छन् । यदि गठबन्धन बन्यो भने ओलीले यी सांसदहरुलाई आफूतिर तान्नेछन् । वैकल्पिक सरकार गठन नै चुनौतीपूर्ण हुनेछ । भइहाले पनि धेरै टिक्ने छैन । प्रमुख प्रतिपक्षीका हिसाबले यी सबै अपजस देउवाकै थाप्लोमा आउने निश्चित छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x