किन तातोपानी नाका बन्यो सुनसान
तातोपानी (सिन्धुपाल्चोक) — ‘आइसोलेट एरिया’ सहित खुलाइएको तातोपानी नाका व्यापारिक गतिविधि नभएपछि सुनसान बनेको छ । कोरोना संक्रमण फैलने डरले एकतर्फी आयात मात्रै खुलाइएको तातोपानी नाकामा पर्याप्त मालवाहक कन्टेनर नभित्रिँदा यो क्षेत्र खण्डहरजस्तै देखिएको हो ।
‘कुनै बेलाको चर्चित नाका खण्डहरजस्तै बनेको छ, खासै कन्टेनर पनि भित्रिएका छैनन्, आयात मात्रैको सर्तमा खुलेको नाका जस्तो मात्रै भएको छ,’ भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने । सर्वसाधारणका लागि नाका नखुलाइएपछि तातोपानीमा अहिले उराठलाग्दो अवस्था देखिएको उनले सुनाए ।
झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनर, होटल व्यवसायी भूकम्पअघि झैं व्यापारिक रूपमा तातोपानी नाका खुल्ने आशमा बसिरहेका छन् । ‘कन्टेनर गुड्ने सडकजस्तो मात्रै भएको छ त्यो पनि जीर्ण बनेको छ । सर्वसाधारणका लागि नखुलेसम्म नाकाको कुनै अर्थ छैन,’ उनले भने ।
नाका खुल्ने र व्यापार हुने आशमा लिपिङ पुल छेउमा होटल, पसल थापेर बसिरहेका व्यवसायी नाकामा कुनै चहलपहल नभएपछि निराश छन् । नाकालाई पूर्ण रूपमा खुलाउन पूर्वाधारलाई बलियो बनाउन हरसम्भव प्रयास गरिएको भोटेकोसी–२ तातोपानीका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताए । अहिले दैनिक मुस्किलले पाँच वटा कन्टेनर मात्र भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीको भनाइ छ । ‘गत वर्ष दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थे, राजस्व मात्रै १ अर्ब ५९ करोड संकलन भएको थियो,’ उनले भने ।
कोरोना माहामारीअघि नाकाबाट बजारमा माग हुने रेडिमेड सामग्री भित्रिँदा अघिल्लो वर्षको कात्तिकमा मात्रै २८ करोड राजस्व उठेको उनको भनाइ छ । ‘हालै हाइड्रोपावरका सामग्री, इन्डस्ट्रियल मेटिरियल मात्रै कन्टेनरबाट आएका छन्,’ उनले भने । कोरोना कालअघि नाका खुलाइँदा नेपालबाट मुडा, खाद्यान्न, गलैंचा, ह्रयान्डिक्राफ्टलगायत झन्डै १ सय ८२ प्रकारका सामग्री चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो । चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक, गार्मेन्ट्स, कपडाजस्ता सयौं प्रकारका सामग्री नेपाल भित्रिने अनौपचारिक कबोल भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।
‘तर अहिले आयात मात्रै भइरहेको छ । कोभिडको त्रासमा अत्याधुनिक टेलर कन्टेनर प्रयोगमा ल्याइएको छ, त्यसैमाथि चिनियाँ कन्टेनरले सामग्री बन्दरगाहसम्म ल्याइदिन्छ अनि आइसोलेट क्षेत्रमा धोएर एक रात राखेपछि प्रोटोकल मापदण्डअनुरूप सेनिटाइज गरेर फिर्ता लैजान्छ,’ उनले भने ।
सीमा जोड्ने सडकको झनै बेहाल
चिनियाँ कम्पनी सीआरसीसीले पुनर्निर्माण गरेको कोदारी राजमार्गको बसेरी–लिपिङ खण्ड बर्खाले क्षतविक्षत भएको ठाउँमा बेहाल छ । सीमा जोड्ने सडकको स्थानपिच्छै भोटेकोसी छेउको भूभाग ठाउँठाउँमा भत्किएर झरेको छ । छेउको भाग खसेर जीर्ण सडकमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बालबालिका र बिरामीलाई झन् समस्या भएको छ । ‘सवारी चालकसमेत सीमा क्षेत्रको यात्रा गराउन डराउँछन् । सीमाको सडकलाई बेवास्ता किन गरिएको भनेर बुझ्न सकिएको छैन,’ एक स्थानीयले भने । ईकान्तिपुरबाट


