१५ आश्विन २०८३, बिहीबार

कोभिड-१९ विरुद्धको खोप नेपाल ल्याउन निजी कम्पनीहरुको हानथाप सुरु

एसीपी संवाददाता

४ पुष २०७७, शनिबार ०८:५० मा प्रकाशित

कोभिड-१९ विरुद्धका भ्याक्सिनले अनुमति पाएसँगै नेपालमा भ्याक्सिन ल्याउन निजी कम्पनीहरुको हानथाप सुरु भएको छ । सरकारले आफै र कोभ्याक्स सुविधामार्फत भ्याक्सिनहरु ल्याउने तयारी अगाडि बढाइरहेका बेला निजी कम्पनीहरु पनि नेपालमा खोप ल्याउने दौडमा लागेका हुन् । त्यसका लागि उनीहरु सरकारको अनुमति खोजिरहेका छन् ।

विश्वका विभिन्न देशका कम्पनीले बनाएका खोपहरु नेपालमा ल्याउनका लागि नेपालका निजी कम्पनीहरु अल्फाकेयर, हस्पिटेक, विध म्यानेजमेण्टलगायत लागिरहेका छन् । अल्फाकेयर चिनियाँ खोप भित्र्याउनका लागि पहल जारी राखेको छ । उसले चीनको राजधानी बेइजिङमा रहेको कम्पनी सिनोभ्याकले बनाएको खोपका लागि निर्माता कम्पनीसँग छलफल समेत अगाडि बढाइसकेको छ । सिनोभ्याकले बनाएको ‘कोरोनाभ्याक’ नामको खोप निस्क्रिय प्रकृतिको खोप हो ।

यो संसारमा बनेका अन्य कोभिड—१९ खोपहरु भन्दा फरक छ । मोर्डना, फाइजरका खोपहरु ‘एमआरएनए भ्याक्सिन’मा पर्दछन् । हस्पिटेक भारत बायोटेक कम्पनीको तेस्रो चरणको ट्रायलमा रहेको ‘भ्याक्सिन’ नामक खोप ल्याउने योजनामा छ । भारतको अहिले २६ हजारमा यो खोपको तेस्रो चरणको ट्रायल चलिरहेको छ ।

भारतको पहिलो र ठूलो भनी दावी गरिएको यो भ्याक्सिन बनाउने कम्पनीसँग आफूहरुको १४ वर्षदेखि सहकार्य रहेको बताउँदैं हस्पिटेकका सञ्चालक विशाल पण्डितले उसको खोपले नेपालमा अनुमतिमा पाएमा आफूहरुले ल्याउने निश्चित रहेको बताउनुभयो। यस्तै, पिसिआर प्रयोगशाला चलाइरहेको विध म्यानेजमेण्टले रसियाको ‘स्पुतनिक—५’ खोप नेपाल ल्याउनका लागि कसरत गरिरहेको छ । जुन खोपको २ करोड ५० लाख डोज ल्याउनका लागि खोपको निर्माता कम्पनी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकल्सबीच गत असोजमै सम्झौता भएको कुरा बाहिरिएको थियो ।

यही खोप नेपाल भित्र्याउनका लागि विध म्यानेजमेण्टले पनि आँखा लगाइरहेको छ । यस्तै, अन्य केही निजी कम्पनीहरुले पनि नेपालमा कोरोना खोप भित्र्याउन कसरत सुरु गरेको स्वास्थ्य सेवा विभाग स्रोतले जनाएको छ । निजी कम्पनीहरुले खोप ल्याउन कसरत गरेपनि सरकारको अनुमति बिना उनीहरु खोप भित्र्याउन सक्ने छैनन् । नेपालले विश्वव्यापी भ्याक्सिन सञ्जाल ‘गाभी’ तथा महामारीविरुद्धको गठबन्धन ‘सेपी’को सहकार्यमा स्थापित ‘कोभ्याक्स’अन्तर्गत सुरुमा कुल जनसंख्याको २० प्रतिशतका लागि खोप ल्याउने तयारी गर्दैछ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना भ्याक्सिन ल्याउनका लागि आवश्यक प्राविधिक सुझाव दिन विज्ञ सल्लाहकार समूह समेत गठन गरेर काम अगाडि बढिरहेको छ । सरकारको ७२ प्रतिशत नेपालीलाई कोरोना खोप दिने योजना छ । कोरोना खोपबारे समन्वय गरिरहेको स्वास्थ्य सेवा विभागले भने आफै कसरी खोप नेपाल ल्याउने भन्ने विषयमा छलफल चलाइरहेको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले छिटो खोप ल्याउन चार विकल्पमा छलफल भइरहेको बताउनुभयो । जसमा कोभ्याक्समार्फत आउने, जिटुजी, सिधैं सरकारले किन्ने र प्राइभेट सप्लायर्सहरुमार्फत ल्याउने विषयमा छलफल भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x