कोरोना संक्रमित एकको मृत्यू , १७ जना डिष्चार्ज
कोरोना संक्रमणका कारणले बर्दियाका एक पुरुषको बाँकेमा उपचारको क्रममा निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका ६ का ४२ वर्षका पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान ३ बजे निधन भएको हो ।
गत १४ असोजमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा भर्ना भएका उनलाई १६ असोजमा कोरोना पुष्टि भएको थियो । २७ असोजमा उनलाई भेरी अस्पतालमा रिफर गरिएको थियो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा अस्पतालमा उपचार गर्न आएका कोरोना संक्रमितको मृत्यु संख्या १४ पुगेको छ ।
यसैबीच आईतबार बाँकेमा थप १७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ११ जना पुरुष र ६ जना महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ३९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा ६ सय ५ जना छन् । बाँकेमा हालसम्म २ हजार ६ सय ७३ जनामा कोरोना पुष्टि हुँदा २९ जनाको भने मृत्युु भइसकेको छ ।



