कोलकाता राइडर्सले (आईपीएल) को १४ औं संस्करणमा विजयी सुरुवात
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा कोलकाताले हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदारावादले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि मनिस पाण्डे र जोनी बेयर्स्टोले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । मनिसले ४४ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ६१ रन बनाए । बेयर्स्टोले ४० बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ५५ रन जोडे । अब्दुल सामदले ८ बल खेल्दै २ छक्का मद्दतमा अविजित १९ रन बनाए ।
कोलकाताका प्रसिद कृष्णाले २ विकेट लिए भने शकिब अल हशन, आन्द्रे रसेल र प्याट कमिङ्सले समान १ विकेट लिए ।


