खनाल नेपाल समूहले ओलीविरुद्ध एकैसाथ तीन रणनीति अगाडि सर्यो
काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेतामाथि नै कारबाहीको डन्डा चलाएपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले ओलीविरुद्ध एकैसाथ तीन रणनीति अगाडि सारेका छन् ।
आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको गम्भीर आरोपसहित ओलीले नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि खनाल–नेपाल समूहले ‘काउन्टर रणनीति’ बनाएको छ ।
मंगलबार खनाल–नेपाल समूहको स्थायी कमिटी वैठकले ओलीको पछिल्लो कदम अस्वीकार गर्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । ११ नेताहरुले संयुक्त विज्ञप्तिमार्फत ओलीबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई नै बिसर्जन गर्ने दूष्प्रयत्न भइरहेको तथा राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेको बताएका छन् । यसका लागि संघर्ष गर्ने उनीहरुको निर्णय छ ।
‘नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन्,’ खनाल–नेपाल समूहले जारी गरेको वक्तव्यमा छ । पार्टी एकतालाई विखण्डन गर्ने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट, भेला तथा पार्टीको कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरेको भन्दै ओलीले सोमबार नेपाल र रावललाई कारबाही गरेका छन् । ओलीको कारबाही कदम र खनाल–नेपाल समूहको पछिल्लो रणनीतिले एमालेका दुवै समूहबीचको विवाद बढ्ने देखिएको छ ।
चैत्र ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेला, आफूनिकट केन्द्रीय कमिटीका सदस्यहरुको पछिल्ला बैठक र कारबाहीपछिको अवस्था मूल्याङ्कन गर्दै खनाल–नेपाल समूहले ओलीविरुद्ध लड्न देशभर प्रतिवाद, राजनीतिक–वैचारिक भण्डाफोर र सबै कमिटीको पुनर्गठनको अभियान अघि बढाउने रणनीति लिएका हुन् । प्रतिवादअन्तर्गत नेपालले आफू र रावलमाथिको कारबाहीविरुद्ध आवाज उठाउने, यसलाई अस्वीकार गर्ने नीति लिएका छन् ।
यसबाहेक राजनीतिक–वैचारिक भण्डाफोर अन्तर्गत आफ्नो समूहका कार्यकर्तालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध प्रशिक्षण दिने नीति बनाएको छ । यस्तो प्रशिक्षणसँगै सबै कमिटीको पुनर्गठन गर्ने नेपाल समूहको योजना छ । ‘हामी ओलीका गलत कदम र उनको प्रवृत्तिविरुद्ध भण्डाफोरको अभियान लिएर तलैसम्म जान्छौं । उनले कम्युनिष्ट आन्दोलन कसरी मास्दैछन् र एमालेलाई कसरी विभाजन गर्दैछन् भन्ने मुद्दा तल्लो तहका नेता–कार्यकर्तालाई भन्छौं’, नेपाल निकट एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘यस्तो प्रशिक्षणसँगै हामी पार्टीका सबै कमिटीको पुनर्गठन गर्छौं । प्रदेश र जिल्ला तहमा मात्र होइन, यस्तो पुनर्गठन वडा र टोलसम्मका साथै सबै जनवर्गीय संगठनमा पनि हुन्छ ।’
सर्वोच्चको फागुन २३ को फैसलाले एमाले र माओवादी केन्द्रको एकता बदर गरिदिएपछि तत्कालीन नेकपा विवाद एमालेमा प्रवेश गरेको थियो । २८ फागुनमा ओलीले एकतर्फी केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी विस्तार, नेताहरुको जिम्मेवारी हेरफेर र विधान संसोधनलगायतका निर्णय गरेपछि एमालेभित्रको तनाव झनै चर्केको थियो । पछिल्लो कारबाही प्रकरणले त विवादको आगोमा पेट्रोल नै खनाएको छ । यो समूहले फागुन २८ को निर्णय खारेज हुनुपर्ने सर्त राखेर ओलीले बोलाएका बैठक बहिष्कार गर्दै आएको छ । ओलीले भने विधान संशोधनमार्फत अधिकार केन्द्रित गर्दै नेताहरुमाथि स्पष्टीकरण पत्रबाट कारबाहीको प्रक्रिया थालेका छन् । दुवै समूहका लागि २८ फागुन सर्तमात्र होइन, प्रतिष्ठा नै बनेको छ । यसैका बीचमा खनाल–नेपाल समूहले सम्भावित सबै कदम (पार्टी विभाजनसम्म)का लागि तयारीस्वरुप ओलीविरुद्ध प्रतिवाद, राजनीतिक–वैचारिक भण्डाफोर र सबै कमिटीको पुनर्गठन अभियान थालेको हो ।
प्रतिवादका लागि कस्तो योजना ?
ओली विभाजनको पक्षमा लागे भन्दै उनका कदमको विरोध गर्न खनाल–नेपाल समूहले कार्यकर्ताहरूलाई आग्रह गरेको छ । ‘ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन हामी नेकपा (एमाले) का सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछौं’, खनाल–नेपालसहित ११ नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा छ ।
ओलीले नेपाल र रावललाई दिएको निलम्बन पत्रमा पार्टीविरोधी गतिविधिहरू कायम रहेमा जुनसुकै बेला थप कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन् । तर, नेता नेपालले ओलीको कदमलाई स्वेच्छाचारी प्रवृत्ति भन्दै यसका विरुद्ध देशभरिका कार्यकर्तालाई दृढतापूर्वक उभिन आहृवान गरिसकेका छन् ।‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता–कार्यकर्ताहरूलाई कत्ति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरुद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु,’ नेपालको भनाइ छ, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन ।’
सबै कमिटीको पुनर्गठनको योजना के छ ?
ओलीविरुद्ध राजनीतिक–वैचारिक भण्डाफोरसँगै नेपाल समूहले संगठन निर्माणलाई पनि उच्च प्राथामिकतामा राखेको छ । संगठन निर्माणमा उसका दुई योजना छन्, पहिलो–आफ्नै समूहका नेताको नेतृत्वमा रहेका कमिटीलाई पुनर्गठन गर्ने र ओली समूहका नेताले नेतृत्व गरेका कमिटीमा समान्तर कमिटी बनाउने । ‘०७५ जेठ २ अगाडि तलसम्म जुन–जुन कमिटी हामीसँग नजिक थिए । तिनीहरुलाई मान्यता नदिएर ओली कमरेडहरुले आ–आफ्नै खालको कमिटी बनाउनु भएको छ । कुनै कमिटी ओली कमरेडसँग नजिक थिए, कुनै हामीसँग नजिक थिए । जो सँग नजिक भए पनि हाम्रो माग ती कमिटीलाई काम गर्न दिनु पर्यो भन्ने थियो,’ खनाल–नेपाल समूहका नेता रघुजी पन्तले भने, ‘तर उहाँहरुले वैध कमिटीलाई पाखा लगाएर समानान्तर कमिटी बनाइरहनु भएको छ । त्यसकारण हामी नजिक रहेका ती वैध कमिटीले आफ्नो काम अगाडि बढाउने । उहाँहरुले अवैध ढंगले समानान्तर कमिटी बनाएको ठाउँमा हामीले पनि कार्यकर्तालाई संगठित गर्ने काम देशव्यापी रुपमा हुन्छ ।’
यो समूहले त्यसको सुरुवात गरिसकेको छ । यो समूहले शनिबार अर्घाखाँचीमा रामबहादुर चौहानको नेतृत्वमा ७० सदस्यीय जिल्ला कमिटी बनाएको छ । जबकि चौहान एकीकृत एमालेका जिल्ला सचिव हुन् । लगत्तै ओली समूहले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका नेपाल समूहका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ । चौहानसहित संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई ओली समूहले निष्कासित गरेको छ । सोमबार गोरखामा पनि यो समूहले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । बस्नेत यसअघि जिल्ला उपाध्यक्ष थिए । यो समूहले अहिलेसम्म केन्द्रीयस्तरमा विद्यार्थी, महिला, युवा संगठनमा समानान्तर कमिटी बनाइसकेका छन् ।
राजनीतिक–वैचारिक भण्डाफोरको योजना कस्तो ?
खनाल–नेपाल समूहले ‘डकुमेन्ट’ नै तयार पारेर राजनीतिक–वैचारिक भण्डाफोर अभियान चलाउने निर्णय लिएको छ । ४ र ५ चैत्रको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित अवधारणा पत्र (परिमार्जनसहित), १७ बुँदे प्रस्ताव र ओलीलाई पठाइएका प्रतिस्पष्टीकरण पत्रलाई ‘बुकलेट’ बनाएर तल्ला कमिटीसम्म प्रशिक्षणमा जाने नेपाल समूहको तयारी छ । यो समूहले प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि ओलीले निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्याउने विभिन्न कामहरू भएका तथा भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लागेको निष्कर्ष पनि निकालेको छ । यसबाहेक खनाल–नेपाल समूहले पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरूको षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने आफूहरुको प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख ओलीलाई मान्य नभएको पनि उल्लेख गरेको छ ।
ओलीले चैत्र ९ मा महासचिव ईश्वर पोखरेलमार्फत नेता नेपालसहित उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाएका थिए । नेपालले चैत्र १२ मा लेखेको जवाफीपत्रमा ओलीमाथि नै प्रतिप्रश्न गरेका थिए । नेपाल र रावलले स्पष्टीकरण पत्रको जवाफ दिएको एक साता नबित्दै ओलीले उनीहरुमाथि कारबाही गरे । भुसाल र पाण्डले भने मंगलबार आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनीहरुले ओलीलाई स्पष्टीकरण सोध्नै हैसियत नै नभएको जवाफ दिएका छन् ।


