यही फागुन १९ गते हुने उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको खानेपानी मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापनलगायत महत्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिने मन्त्रालयका उपसचिव भक्तराज जोशीले जानकारी दिए । उनका अनुसार यस सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने यो सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ । नेपालप्रेस



