२ श्रावण २०८३, शनिबार

घरदैलोमा समाजिक भत्ता, प्रमुख आफै घर घरमा

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार १३:३७ मा प्रकाशित

डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७७/०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कात्तिकसम्मको भत्ता वितरण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण शुरु गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का जेष्ठ नागरिक बदलु शर्मालाई रकम हस्तान्तरण गर्दै सामाजिक भत्ता वितरण सुरु गरेका हुन् ।
त्यस अवसरमा बोल्दै उनले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घर–घरमा पुगेर रकम वितरण गर्दै आएको र अहिले चाडपर्व र कोरोना संक्रमणको महामारीका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्नमा यो भत्ताले राहत दिने विश्वास व्यक्त गरे । अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पुर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी गराए ।
गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर–घरमा पुगेर भत्ता वितरण गरिरहेको छ । प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला गरि तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल महिलालाई प्रति महिना रु. दुई हजार, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना रु. एक हजार ६ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु. चार सयका दरले रकम वितरण गरिने वडा सचिव शिवपाल मौर्यले बताए ।
यसैगरि, अपांगता भएका व्यक्ती (ग) वर्गलाई प्रतिमहिना रु. पाँच सय र (घ) वर्गलाई रु. चार सय प्रति महिनाका दरले आफ्नै स्रोतबाट वितरण गरिरहेको उनले बताए । कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गरि घरदैलो अभियान अन्तर्गत रकम वितरण भइरहेको उपाध्यायले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x