१५ आश्विन २०८३, बिहीबार

चिनियाँ खोपको अन्योलतामा सरकार कहिले कसरी लाउने

एसीपी संवाददाता

२० चैत्र २०७७, शुक्रबार ०२:२८ मा प्रकाशित

काठमाडौँ । चीन सरकारले अनुदान स्वरूप दिएको ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको छ । चिनियाँ सरकारी फार्मास्युटिकल ग्रुप अन्तर्गतको सिनोफार्मले उत्पादन गरेको यो खोपलाई विश्व स्वास्थ्य सङ्गठनले प्रयोग अनुमति भने दिइसकेको छैन ।

नेपालमा आपतकालिन प्रयोगका लागि औषधि व्यवस्था विभागमा भने दर्ता भइसकेको छ । यो खोप लगाउनका ४० देखि ५४वर्ष उमेर समूहका नागरिकहरूलाई लगाउँदा उपयुक्त हुने सल्लाह मात्रै भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीले भने ।

‘स्वास्थ्य मन्त्रालयले नीति तयार पारेपछि मात्रै कुन समूहलाई लगाइन्छ भनेर भन्न सकिन्छ’ तिंकरीले भने। सल्लाहकार समिति एवं विज्ञहरूले दिएको सल्लाह बमोजिम स्वास्थ्य मन्त्रालयले कुन उमेर समूहकालाई खोप लगाउने भनेर टुङ्गो लगाउने उनको भनाइ छ ।

अहिले छलफल मात्रै भएको र यो नै उमेर समूहलाई लगाउने भनेर तोकेर भन्न नसकिने उनले बताए । यसबाट खोप लगाउने उमेर समूहलाई छान्ने विषयमा स्वास्थ्य अधिकारीहरू नै स्पष्ट नरहेको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४० देखि ५४ वर्ष उमेर समूहका लक्षित वर्गका मानसीहरूमा यो खोप लगाउने विषयमा छलफल भएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले अहिले ४० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई खोप लगाउने निर्णय नै भएको बताए ।

यसअघि अक्सफोर्ड र एस्ट्राजेनेकाको भारतमा उत्पादित खोप कोभिसिल्डलाई भने सुरुमै अग्र भूमिका निभाउने समूहलाई दिइएको थियो । त्यसपछि ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरू दिइएको थियो । यो समूहका मानिसहरूमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्युदर बढी भएका कारण जोखिमयुक्त समूह भन्दै खोप लगाइएको थियो ।

यसअघि नै नेपाल भित्रिएको कोभिड १९ विरुद्धका खोप बालबालिका, गर्भवती र एक पटक लगाएर एलर्जी भएकाबाहेक सबैलाई लगाउँदा हुने स्वास्थ्य अधिकारीहरूले बताएका थिए ।

तर, चीनले उत्पादन गरेको खोप लगाउनका लागि ४० देखि ५४ वर्ष उमेर समूहका मानिस मात्रै किन छानिए भन्नेमा स्पष्ट जवाफ भने पाइएको छैन ।

कोभिड १९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले यो खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका बढी प्रभावकारी देखिएको बताए ।

खोप उत्पादककै तथ्याङ्क अनुसार पनि ६० वर्षभन्दा माथि उमेर समूहका मानिसहरूमा खोप कम प्रभावकारी देखिएको डा. उप्रेतीले बताए ।

४० वर्षदेखि ५९ वर्षसम्म लम्ब्याउन सकिने तर, त्यसभन्दा बढी उमेर समूहमाथि पर्याप्त परीक्षण नभएका कारण लगाउने निर्णय नभएको उनको भनाइ छ ।

वास्तवमा भन्नु पर्दा चीनले खोप परीक्षणको तथ्याङ्क नै स्पष्ट रूपमा सार्वजनिक नगरेकाले पनि अलमल रहेको बुझ्न सकिन्छ ।उत्पादक कम्पनीले नै खोप यो उमेर समूहका व्यक्तिका यति प्रभावकारी छ भनेर स्पष्ट जानकारी दिएमा अलमल हुने कुरा नै आउँदैन ।

पछिल्लो तथ्याङ्कले नेपाल भित्रिएको सिनोफार्मको खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको डा. तिंकरीले बताए । तर, कुन उमेर समूहमा हो भनेर छुट्टाइएको छैन ।

कोभिसिल्ड खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको थियो । ६५ वर्षमाथि उमेर समूहका सबै नागरिकलाई खोप लगाइ सकेको अवस्था छैन ।

यस्तोमा सिनोफार्मको करिब ४ लाख जनालाई पुग्ने खोप किन ५९ वर्षभन्दा मुनिका मानिसहरूलाई मात्रै लक्षित गरियो भन्ने प्रश्न अनुत्तरित रहेको छ ।हाम्राकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x