२ श्रावण २०८३, शनिबार

चिनियाँ दूतावासको पत्रप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको घोर आपत्ति

एसीपी संवाददाता

२९ कार्तिक २०७७, शनिबार ०३:४९ मा प्रकाशित

चीनबारे झुटो प्रचार गरेको आरोप लगाउँदै नेपालस्थित चिनियाँ दूतावासले लेखेको पत्रप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  चिनियाँ दूतावासले कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सार्वजनिक गरेको प्रतिवेदन आधाबिहीन र झुटो भएको भन्दै कांग्रेसलाई शुक्रबार पत्र लेखेको थियो। सांसद शाहीले चीनबारे भ्रम फैलाउनुका साथै प्रतिवेदन गैरजिम्मेवार भएको भन्ने दूतावासको पत्रप्रति कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

‘केन्द्रीय सदस्य शाहीले सार्वजनिक गरेको प्रतिवेदनका सम्बन्धमा काठमाडौंस्थित चिनियाँ राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको कुरामा सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ,’ कांग्रेसले भनेको छ। 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले कांग्रेसलाई भारतपरस्त पार्टीको रुपमा चित्रित गर्दै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप लगाएको थियो।  

कांग्रेसले ग्लोबल टाइम्समा प्रकाशित लेख आधारहीन र आपत्तिजनक भएको टिप्पणी गर्दै कांग्रेस नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी नभएको जीकिर गरेको छ।  ‘नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ।
 
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले चिनियाँ दूतावासको पत्र र ग्लोवल टाइम्सको लेखप आपत्तिजनक भएको बताए। कांग्रेसले भारतीय पक्षबाट नेपाली भूमि मिचिदा पनि विरोध गरेको हो र चीनबाट अतिक्रमण हुँदा पनि विरोध गर्छ,’ उनले भने, ‘भूमि मिचिएको हो कि होइन भन्ने कुरा प्रमाणित गर्न दुई देशका प्राविधिकको संयुक्त टोलीबाट स्थलगत अध्ययन गर्न लगाए भयो नि।’ उनले नेपालको भूमि मिचिदा कांग्रेसले सधैं विरोध गर्ने स्पष्ट पारे।  कांग्रेसले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ। 

क्रियाशील सदस्यता मंसिरसम्म
यसैबीच कांग्रेसले महाधिवेशनको आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ। सहमहामन्त्री महतका अनुसार मंसिर मसान्तभित्र क्रियाशील सदस्यता नविकरण र वितरणको काम टुंग्याएर नामावली केन्द्रमा पठाइसक्नुपर्ने निर्णय भएको छ। यसअघि भदौभित्र जिल्लाले भदौ मसान्तभित्र सदस्यता केन्द्रमा पठाउनुपर्ने कार्यतालिका  थियो।  बाँकी कार्यतालिका भने फेरबदल गरिएको छैन। 

आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने गरी कांग्रेसले यसअघि नै १४ औं महाधिवेशनको मिति तोकिसकेको छ। तर कार्यतालिका अनुसार काम नहुँदा तोकिएको मितिमा महाधिवेशन नहुनेमा नेता एकमत भएपनि अर्को मितिबारे भने सहमतिमा पुग्न सकेका छैनन्।  

न्यूनतम जिम्मेवारीबाट पन्छिदै सरकार

कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारको कामप्रति असन्तुष्टि जनाएको छ। कोरोनाका कारण आमनागरिकको जीवन कष्टकर हुँदै गएको अवस्थामा कोरोना परीक्षण र उपचार गर्नुपर्ने न्यूनतम जिम्मेवारीबाट सरकार भाग्न खोजेको कांग्रेसको आरोप छ। 

कांग्रेसले चौतर्फी दवाव र सर्वाेच्च अदालतको आदेशपछि सरकार कोरोना परीक्षण र उपचार सरकारी खर्चमा गर्ने निर्णय गर्न वाध्य भएपनि कार्यान्वयनमा भने आशंका गरेको छ। ‘अहिले पनि परिक्षण र उपचार खर्च आफैले बेहोर्नु पर्ने अवस्था छ।

संक्रमितको उपचारका लागि अस्पताल र बेड लगायतमा न्यूनतम सुविधामा पनि अभाव छ,’ कांग्रेसले भनेको छ, ‘एकातर्फ नागरिकहरु महामारीले आक्रान्त भएका छन् भने अर्कोतर्फ वजारमा कालाबजारी, कृतिम अभाव, मूल्यवृद्धि लगायतका कारण चाडपर्वको वेलामा पनि जनताले दैनिक छाक टार्न समेत समस्या भएको छ।’ अन्नपुर्णपोस्टबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x