१ श्रावण २०८३, शुक्रबार

चीन द्धारा नेपाली भूभागमा नौ वटा भवन निर्माण,नेपालीलाई प्रतिबन्ध

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार ०५:५३ मा प्रकाशित

फाइल तस्बिर

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा भवन बनाएको बताउदै लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ भएका मानिसहरु गाडी चढेर चिनियाँ भूभागतर्फ लागेको बताए

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेकाे पाइएको छ । दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ।

केही दिनअघि लाप्चा क्षेत्र पुगेर फर्किएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ भएका मानिसहरु गाडी चढेर चिनियाँ भूभागतर्फ लागेको उनले बताए।

उनले नेपाली भूभागमाथि बनेका भवन के गरिन्छ भन्ने जानकारी पनि नभएको बताए। उनले भने, ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’

यसअघि २०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सोही स्थानमा तीन वटा भवन मात्र निर्माण भएको भएपनि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकिएको बताउँदै हाल थप नयाँ भवन निर्माण गरेर भित्रको फिनिसिङको कार्य गरिरहेको अध्यक्ष लामाले बताए। उनका अनुसार सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत दिने गरेका छैनन्। तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहन्छन्।

हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन। वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले पनि भवन निर्माण गरिएको क्षेत्र नेपाली भूभाग भएको बताए।

तामाङले भने, ‘पहिले भवन बनाउने बेला लिमीबासीले कुरा उठाउँदा पशुबस्तुको उपचार गर्नका लागि भ्याक्सिन लगाउने ब्लक बनाउने र दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको थियो। तर भवन बनेपछि कहिल्यै प्रयोमा आएका छैनन्।’

केही वर्ष भवन त्यतिकै अलपत्र अवस्थामा रहेकाे उनले बताए।  यसरी अर्काको जमिनमाथि भवन बन्नुभन्दा पहिले नाम्खा गाउँपालिकासँग समन्वय हुनुपर्ने तर त्यो हुन नसकेको उनको तर्क छ।

हाल भवन बनेको क्षेत्रमा पहिले चिनियाँ र नेपाली पक्षबीच बस्तु विनिमयको व्यापार हुने गर्थ्यो। अहिले सोही क्षेत्र हुँदै लिमीसम्म सडक निर्माण गरिएको छ। १२ नम्बर सिमा स्तम्भ क्षेत्रमा भवन बनेको जानकारी आएको बताउँदै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले त्यसबारेमा बुझ्न र सिमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा जान लागेको बताए।

अहिले सुनेको भएपनि वास्तविकता के हो? त्यहीँ गएर जानकारी लिने र के भएको हो टुङ्गो लगाएर आउने उनले बताए। त्यसका लागि प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानतर्फ जाने तयारी भइरहेको छ। श्रोत देश सञ्चार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x