२० आश्विन २०८३, मंगलवार

डुडुवाको राजनीतिक वृत्तमा दुई युवा नेतृत्वको चर्चा मिश्र जनप्रतिनिधिमा सफल, चौधरी संगठन निर्माणमा अब्बल

एसीपी संवाददाता

२१ आश्विन २०८३, बुधबार ०१:४६ मा प्रकाशित

दिनेश ठाकुर, बाँके, असोज २० — मुलुकभर राजनीतिमा युवा नेतृत्वको आवश्यकता र बहस बढिरहेका बेला बाँकेको डुडुवा गाउँपालिकामा नेकपा (एमाले) आबद्ध दुई युवा नेता मोहन राम मिश्र र महेश कुमार चौधरीको राजनीतिक सक्रियता र नेतृत्व क्षमताको चर्चा चुलिएको छ।

दुवै नेताले फरक–फरक क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्दै आएका छन्। मिश्र जनप्रतिनिधिका रूपमा विकास निर्माण र जनसेवामा सक्रिय देखिनुभएको छ भने चौधरी पार्टी संगठन निर्माण, नेतृत्व तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ।

जनप्रतिनिधिका रूपमा मिश्रको निरन्तर सक्रियता
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनदेखि निरन्तर वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका मोहन राम मिश्रले स्थानीय तहमा जनप्रतिनिधिका रूपमा आफ्नो पहिचान स्थापित गर्नुभएको छ। उहाँले आफ्नो वडाको विकास, पूर्वाधार निर्माण तथा नागरिकका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको बताइएको छ।

राजनीतिक रूपमा समेत मिश्रको जिम्मेवारी विस्तार भएको छ। उहाँ हाल नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नं. २ (क) का सह–संयोजकको जिम्मेवारीमा हुनुहुन्छ।

मिश्रले जनप्रतिनिधिको मुख्य दायित्व जनताको आवश्यकता पहिचान गरी त्यसलाई प्राथमिकताका आधारमा सम्बोधन गर्नु रहेको बताउनुभयो।

मिश्रले भन्नुभयो, “राजनीति पद र प्रतिष्ठाका लागि मात्र होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम हो। जनप्रतिनिधिका रूपमा जनताको विश्वासलाई कायम राख्दै विकास र सेवाको कामलाई अझ प्रभावकारी बनाउने मेरो प्राथमिकता हो।”

संगठन निर्माणमा चौधरीको सक्रियता
अर्का युवा नेता महेश कुमार चौधरी भने पार्टी संगठन निर्माण र राजनीतिक सक्रियतामा अब्बल नेताका रूपमा चिनिनुहुन्छ। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका चौधरीले एमालेका विभिन्न तह र कमिटीमा रहेर जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ।

हाल उहाँ नेकपा (एमाले) डुडुवा गाउँपालिका कमिटीको अध्यक्षका रूपमा पार्टी संगठनको नेतृत्व गरिरहनुभएको छ। संगठन विस्तारसँगै सामाजिक संघसंस्थामार्फत समाजसेवामा समेत उहाँको सक्रियता रहँदै आएको बताइएको छ।
चौधरीले संगठन बलियो भए मात्रै राजनीतिक अभियान प्रभावकारी बन्न सक्ने बताउनुभयो।

चौधरीले भन्नुभयो, “युवालाई संगठनसँग जोड्दै जनताको समस्या र आवश्यकतासँग पार्टीलाई प्रत्यक्ष जोड्नु अहिलेको आवश्यकता हो। डुडुवामा बलियो, व्यवस्थित र जनमुखी संगठन निर्माण गर्दै सामाजिक तथा राजनीतिक रूपान्तरणमा योगदान गर्ने हाम्रो लक्ष्य हो।”

डुडुवाको भावी नेतृत्वमा सकारात्मक अपेक्षा
डुडुवाको राजनीतिक वृत्तमा मिश्र र चौधरीको भूमिकालाई फरक कोणबाट महत्त्वका साथ हेरिएको छ। मिश्रले जनप्रतिनिधिका रूपमा हासिल गरेको अनुभव र चौधरीले संगठन निर्माण तथा सामाजिक क्षेत्रमा देखाएको सक्रियतालाई आगामी दिनको नेतृत्व विकाससँग जोडेर हेर्न थालिएको छ।

स्थानीय तहको विकास, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउन सके दुवै युवा नेताले डुडुवाको भावी राजनीतिक तथा सामाजिक नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ।

डुडुवामा युवा नेतृत्वप्रतिको बढ्दो चासोका बीच मिश्र र चौधरीको सक्रियता आगामी दिनमा अझ प्रभावकारी बन्न सके स्थानीय विकास, सुशासन र संगठन निर्माणमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x