तीन चिनियाँ नागरिक सहित बिदेशी नागरिक पनि सरकार बिरुद्ध प्रदर्शनस्थलमा

कोरोना रोकथाम र नियन्त्रणमा सरकार असक्षम भएको तथा भ्रष्टाचार भएको भन्दै पछिल्ला दिनमा सडक प्रदर्शन गरिरहेका युवाहरुको समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो समूहले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो । देशमा सरकार बिरुद्ध भइ रहेको प्रदर्शनमा बिदेशी नागरिकहरुको समेत सहभागीता रहदै आएको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी श्यामलाल ज्ञवालीले प्रदर्शनबाट सातजना विदेशी पक्राउ गरिएको बताए । उनका अनुसार तीनजना चिनियाँ तथा एक-एकजना अमेरिकी, क्यानेडियन, नर्वेजियन र अष्ट्रेलियन नागरिकलाई प्रदर्शनस्थलमा प्लेकार्ड बोकिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनले तीनजना नेपाली नागरिक पनि पक्राउ परेको बताए । उनीहरुलाई भृकुटीमण्डपस्थित नगरप्रहरीमा राखिएको छ ।
आन्दोलनमा सहभागी सिंह उनीहरुलाई सैनिक मुख्यालय भद्रकाली जाने बाटोबाट प्रहरीले पक्राउ गरेको आफूले थाहा पाएको बताउँछन् । ‘केही विदेशीलाई पक्राउ गरिएको छ भन्ने मैले सुनें, ती हाम्रो आन्दोलनमा सहभागी हुन् भन्ने मलाई थाहा छैन,’ उनले भने ।
प्रहरी स्रोतले नेपालको कानुनविपरित प्रदर्शनमा सहभागी भएकाले विदेशीलाई पक्राउ गरिएको बताएको छ । गृह मन्त्रालयले यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको एक अधिकारीले बताए । सभार – ईकान्तिपुर



