२३ श्रावण २०८३, शनिबार

थरुहटद्वारा धनगढीमा सरकारविरुद्ध ५० हजार युवा उतार्ने चेतावनी

एसीपी संवाददाता

११ माघ २०७७, आईतवार १३:०९ मा प्रकाशित

धनगढीः थरुहट/थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा सरकारविरुद्ध ५० हजार युवा उतार्ने चेतावनी दिएको छ।

टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला र प्रतिनिधि सभा विघटन विरुद्ध भन्दै सो मोर्चाले फागुन १५ र १६ गते धनगढीमा कम्ब्याट ड्रेसमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको हो।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुले भने,‘हामीमाथि राज्यबाट निरन्तर दमन जारी छ। विद्रोहको तयारीमा छौ। धनगढी नै हब हो। कम्ब्याट ड्रेससहित ५० हजार युवा दस्ता प्रदर्शन गर्दैछौ।’

कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने बताउँदै प्रवक्ता थारुले अबको आफुहरुको आन्दोलन धनगढी र टीकापुर केन्द्रित हुने उल्लेख गरे।

‘हामीलाई असाह्य भएको भएको छ। आन्दोलन अब प्रतिरोधात्मक र प्रतिकात्मक हुन्छ। सरकारलाई असहयोग हुन्छ। सरकारलाई असफल बनाउँछौ। अन्तिम विद्रोहको तयारी नै हो’, उनले अगाडि थपे।

टीकापुर घटनालाई छानविन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर राजनीतिक घटनाको रुपमा सम्बोधन हुनुपर्ने र कैद सजाय सुनाइएको नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग आफुहरुको रहेको उनको भनाइ थियो।

पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मणसहितलाई जन्मकैद फैसला सुनाएको थियो। सो फैसला विरुद्ध मोर्चा विरोधमा उत्रिएको छ।

आफुहरुको राजनीतिक लडाइलाई जातीय दृष्टिकोण भन्दा पनि पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा हेर्नुपर्ने समेत प्रवक्ता थारुको भनाइ थियो।

संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीको ज्यान जाने गरि टीकापुर घटना घटेको थियो।

यदि राज्यले भदौ ७ गतेको घटनालाई आपराधिक ठहर गरेको छ भने भदौ ८ गते कर्फ्यूको समयमा थारुहरुको घर, पसल, एफएममा आगजनि गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने मोर्चाको जोड छ। दिनेशखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x