दुई साताभित्रै सङ्क्रमितको सङ्ख्या १०० भन्दा बढी
गत साता सोमवार पहिलो पटक कर्णालीमा कोभिड-१९ भएका व्यक्ति फेला परेको पुष्टि भएको थियो। दुई साताभित्रै सङ्क्रमितको सङ्ख्या १०० नाघेको प्रदेश सरकारले जनाएको छ।
शनिवार एकै दिन ६३ जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पुष्टि भएका सङ्क्रमितहरू कालीकोट, सल्यान र बाजुरा जिल्लाका हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ३७ जनामा कोरानाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिए। शनिवार राति अबेर आएको परिणाममा सङ्क्रमण
दैलेख जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिका, कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका र महाबु गाउँपालिकामा बनाइएका क्वारन्टीनमा बस्दै आएका मानिसहरू भएको बुझिएको छ।
विभिन्न जिल्लामा क्वारन्टीनमा भएका मानिसहरूको स्वाब सङ्कलन गरेर त्यसको परीक्षण गर्ने कामलाई निरन्तरता दिइएको अधिकारीहरूले बताएका छन्।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका चार जनामा पनि सङ्क्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ।
योसँगै आइतबार बिहान ८ बजे सम्मको विवरणअनुसार कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितहरूको कुल सङ्ख्या १२३ पुगेको छ ।



