नक्कली नेपाली महिला बनेर साउदी ले फर्कायो , आखिर को हुन ई महिला
साउदी अरेबियाबाट नेपाल फर्किएका तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले पक्राउ गरी छानबिन सुरु गरेको छ। नेपाली पासपोर्ट प्रयोग गरेर वैदेशिक रोजगारीका लागि साउदी गएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। साउदी सरकारले निष्कासन गरेपछि नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र बनाएर नेपाल पठाइएका ती महिलाहरू मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए।
अध्यागमन कार्यालयका अनुसार ती महिलाहरू करिब एक दशकअघि साउदी अरेबिया पुगेका थिए। तर पछिल्लो समय उनीहरूको पासपोर्टको म्याद सकिएपछि साउदी सरकारले पक्राउ गरी निष्कासन प्रक्रिया अघि बढाएको थियो। त्यसपछि त्यहाँस्थित नेपाली दूतावासले यात्रा अनुमतिपत्र बनाएर उनीहरूलाई नेपाल पठाएको हो। तर विमानस्थलमा सामान्य सोधपुछका क्रममा उनीहरूले नेपाली भाषा बोल्न नसकेको, हाउभाउ र पहिचान पनि नेपालीसँग मेल नखाएको देखिएपछि शंका उत्पन्न भएको अध्यागमन स्रोतले जनाएको छ।
कालीमाया तामाङ, इन्द्रमाया लिम्बू र सानु लामा तामाङको नाममा उनीहरू साउदी गएको कागजातमा उल्लेख छ। सोही नामका आधारमा यात्रा अनुमतिपत्र बनाएर नेपाल फर्काइए पनि तीनै जना मुस्लिम पोसाकमा थिए र नेपाली भाषा नबुझ्ने तथा बोल्न नसक्ने देखिएपछि थप अनुसन्धान आवश्यक ठानिएको अध्यागमन कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता अनुज घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूको वास्तविक पहिचान र नागरिकतामाथि गम्भीर प्रश्न उठेको छ।
यस घटनाले विगतमा हस्तलिखित राहदानी प्रयोगमा रहेका बेला नेपाली पासपोर्टको दुरुपयोग गर्दै भारतीय तथा बंगलादेशी नागरिकहरू वैदेशिक रोजगारीमा गएको पुरानो विषयलाई पुनः सतहमा ल्याएको छ। अझै पनि त्यस्ता व्यक्तिहरू छानबिनबिनै यात्रा अनुमतिपत्र पाएर नेपाल फर्किन सक्नुले दूतावासको प्रक्रिया र निगरानी प्रणालीमाथि प्रश्न उठेको छ।
अध्यागमन कार्यालयले हाल ती महिलाहरूलाई नियन्त्रणमा राखी नागरिकता, राहदानी, यात्रा अनुमतिपत्र र वैदेशिक रोजगारीसम्बन्धी सबै कागजातको गहिरो अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप तथ्य खुलेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अधिकारीहरूले बताएका छन्।



