८ आश्विन २०८३, बिहीबार

नेपालगन्जमा नगर प्रहरीको अनौठो लापरबाही : ड्युटीको समय गफगाफमा व्यस्त, अगाडि नै फुटपाथमा छ्यापछ्याफ तरकारी बिक्री

एसीपी संवाददाता

८ आश्विन २०८३, बिहीबार १८:०९ मा प्रकाशित

नेपालगन्ज, ८ असोज — नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र सडक तथा फुटपाथ अतिक्रमण हटाउने जिम्मा पाएका नगर प्रहरीहरूको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको छ। नगरका मुख्य चोक तथा सडकपेटीमा हुने जथाभाबी व्यापार नियन्त्रण गर्न खटिएका नगर प्रहरीहरूले नै जिम्मेवारीप्रति बेवास्ता गरिरहेको दृश्य देखिन थालेको छ।

नेपालगन्जको रानीतलाउ नजिकै खटिएका चार जना नगर प्रहरी ड्युटीको समयमा आफ्नो मुख्य जिम्मेवारी बिर्सिएर आपसमा गफगाफमा व्यस्त रहेको पाइएको छ। एकातर्फ उपमहानगरपालिकाले फुटपाथ र निषेधित क्षेत्रमा व्यापार गर्न सख्त रोक लगाएको छ भने अर्कातर्फ तीनै नगर प्रहरी उभिएको ठीक अगाडि व्यापारीहरूले फुटपाथ ढाकेर छ्यापछ्याफ तरकारी बिक्री गरिरहेका छन्।

आफ्नै आँखैअगाडि सडक तथा फुटपाथमा नियम विपरीत व्यापार भइरहे पनि ड्युटीमा रहेका प्रहरीहरूले त्यसलाई रोक्नुको साटो गफगाफमै अल्झिनुले नगर प्रहरीको भूमिका शंकास्पद बनेको स्थानीयहरूको गुनासो छ। उपमहानगरपालिकाले बजार व्यवस्थापन र ट्राफिक सहजताका लागि भनेर खटाएका सुरक्षाकर्मीहरू नै मुकदर्शक बन्दा नेपालगन्जको फुटपाथ व्यवस्थापन अभियान प्रभावकारी बन्न सकेको छैन।

मेयरको कडा निर्देशन कागजमै सीमित?

नगरपालिकालाई व्यवस्थित, सफा र सुन्दर बनाउन भन्दै नगरप्रमुख (मेयर) ले फुटपाथ तथा सडक अतिक्रमण हटाउन कडा निर्देशन दिँदै आएका छन्। मेयरको निर्देशन विपरीत नगर प्रहरीहरूले नै यस्तो लापरबाही देखाएपछि “मेयरसापको आदेश तल्लो तहका कर्मचारीले नै अटेर गरेका हुन् त?” भन्ने प्रश्न नगरवासीले गर्न थालेका छन्। मेयरको कडा चेतावनी र अभियानका बाबजुद स्थलगत खटिने कर्मचारीहरूको यस्तो ढिलासुस्ती र गैरजिम्मेवारपनले स्थानीय सरकारको नीति कार्यान्वयनमा गम्भीर चुनौती थपेको छ।

IMG_4797

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x