नेपालगन्जमा १० रमज़ान रोजा इफ्तार तथा उर्से पाक कार्यक्रम सम्पन्न
नेपालगन्ज – इस्लाम धर्मका पहिलो महिला मुस्लिम र पैगम्बर मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी उम्मुल मोमिनीन सैय्यदा खदिजा तुल कुबरा (सलामुल्लाह अलैहा) को उर्से पाक (विसाल) को अवसरमा नेपालगन्जको हाजीभोला चोक, मदीना मस्जिद रोडमा रोजा इफ्तार तथा धार्मिक कार्यक्रम सम्पन्न भएको छ। 
१० रमज़ानको यो विशेष दिन इस्लाम धर्मको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमकी पहिलो पत्नी, हसनैन (अलैहिस्सलाम) की नानी तथा इस्लाम धर्मको महान योगदानकर्ता सैय्यदा खदिजा तुल कुबरा (सलामुल्लाह अलैहा) को स्मरणमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा इस्लाम धर्मका विद्वान, स्थानीय अगुवा तथा मुस्लिम समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। इस्लामको पहिलो महिला अनुयायीका रूपमा सैय्यदा खदिजा तुल कुबरा (सलामुल्लाह अलैहा) ले दिएको योगदान, उनीप्रतिको अल्लाह तआला तथा जिब्राईल (अलैहिस्सलाम) को सम्मान तथा इस्लाम धर्मप्रति उनको सेवाबारे चर्चा गरिएको थियो।
धार्मिक प्रवचनमा वक्ताहरूले सैय्यदा खदिजा तुल कुबरा (सलामुल्लाह अलैहा) लाई इस्लामकी प्रथम महिला, पैगम्बर मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) की प्रिय पत्नी, हिजरत र इस्लामको प्रारम्भिक दिनहरूमा सबभन्दा ठूलो सहारा दिने व्यक्तित्वका रूपमा स्मरण गरे। यस अवसरमा बुखारी र मुस्लिम हदीसको हवाला दिँदै उनलाई जन्नतमा मोतिका महलको खुशखबरी प्राप्त भएको कुरा उल्लेख गरियो।
कार्यक्रममा सहभागिहरूले सामूहिक रूपमा इफ्तार गर्दै सैय्यदा खदिजा तुल कुबरा (सलामुल्लाह अलैहा) को महान योगदान सम्झे। अन्त्यमा इस्लाम धर्मको सेवामा समर्पित यो महान व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुस्लिम समुदायलाई उनको जीवनबाट प्रेरणा लिन आग्रह गरियो।



