नेपालगन्जमा १५९औँ श्री रामलीला महा महोत्सव हुँदै ‘बाँके बगिया जाऊँ, श्री रामलीला हेरौँ’ नारासहित आश्विन २५ देखि कार्तिक ५ गतेसम्म विविध कार्यक्रम
दिनेश ठाकुर, नेपालगन्ज, २२ असोज — बाँकेको नेपालगन्जमा ऐतिहासिक तथा धार्मिक–सांस्कृतिक महत्व बोकेको १५९औँ श्री रामलीला महा महोत्सव भव्य रूपमा आयोजना हुने भएको छ। लामो समयदेखि निरन्तर मञ्चन हुँदै आएको भगवान श्रीरामको दिव्य लीलालाई यस वर्ष पनि विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सहित निरन्तरता दिन लागिएको हो।
श्री रामलीला सञ्चालक समिति, नेपालगन्जका अनुसार महोत्सव २०८३ साल आश्विन २५ गते आइतबारदेखि कार्तिक ५ गते बिहीबारसम्म सञ्चालन हुनेछ। महोत्सवमा भगवान श्रीरामको जीवन, आदर्श, मर्यादा, त्याग, कर्तव्य तथा सत्कर्मलाई केन्द्रमा राखेर विभिन्न धार्मिक एवं सांस्कृतिक प्रस्तुति गरिनेछ।
समितिका अध्यक्ष सन्तोष कुमार कानोडिया, कोषाध्यक्ष कन्हैया लाल टण्डन र प्रबन्धक भरत किशोर वैश्यद्वारा जारी निमन्त्रणापत्रअनुसार यस वर्ष पनि एशियामै ख्यातिप्राप्त श्री राधा रमण शर्मा जी महाराजद्वारा संगीतमय आधुनिक साजसज्जा तथा दृश्यदर्शनसहितको मनोहारी रामलीला प्रदर्शन गरिनेछ।
समितिले रामलीला धार्मिक कार्यक्रम मात्र नभई भगवान श्रीरामको जीवन र चरित्रबाट सत्य, अनुशासन, त्याग, कर्तव्य, आदर्श र सत्कर्मको शिक्षा लिन सकिने महत्वपूर्ण माध्यम भएको जनाएको छ। रामलीलाले समाजमा सद्भाव, शान्ति, नैतिकता तथा सकारात्मक संस्कार प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको समितिको भनाइ छ।
यस वर्षको महोत्सवको मूल नारा ‘बाँके बगिया जाऊँ, श्री रामलीला हेरौँ’ तय गरिएको छ। समितिले सम्पूर्ण धर्मानुरागी, श्रद्धालु तथा सर्वसाधारणलाई रामलीला अवलोकन गरी ऐतिहासिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सहभागी हुन आह्वान गरेको छ।
महोत्सवलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउन दर्शकका लागि विभिन्न नियमसमेत लागू गरिएको छ। रामलीला परिसरमा धुम्रपान तथा लागुपदार्थ सेवन पूर्ण रूपमा निषेध गरिएको छ भने दर्शकलाई निर्धारित समयभन्दा अगावै आफ्नो स्थानमा बस्न अनुरोध गरिएको छ।
त्यस्तै, दर्शकले आफ्ना सवारीसाधन रामलीला स्थलभन्दा टाढा तथा सुरक्षित स्थानमा राख्नुपर्ने र सवारीसाधनको सुरक्षाको जिम्मेवारी सम्बन्धित धनी स्वयंले लिनुपर्ने समितिले जनाएको छ। महिलाका लागि छुट्टै तथा समुचित बसाइको व्यवस्था गरिएको पनि समितिले जानकारी दिएको छ।
कार्यक्रमको आवश्यकता तथा परिस्थितिअनुसार कार्यक्रमको स्वरूप र समय परिमार्जन, थपघट वा परिवर्तन गर्ने अधिकार आयोजक समितिमा सुरक्षित रहने जनाइएको छ।
श्री रामलीला महा महोत्सव नेपालगन्जका प्रचार मन्त्री आदित्य गुप्ताका अनुसार, ऐतिहासिक परम्पराका रूपमा निरन्तरता पाउँदै आएको रामलीला महोत्सवले नेपालगन्जको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई थप उजागर गर्दै आएको छ। उहाँले महोत्सवलाई सफल बनाउन श्रद्धालु तथा सर्वसाधारणको सहभागिता आवश्यक रहेको बताउनुभयो।
१५९औँ संस्करणसम्म आइपुगेको श्री रामलीला महा महोत्सवले नेपालगन्जको धार्मिक तथा सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्दै आएको छ। यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालु तथा दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ।


