नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन: चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलद्वारा घरदैलो तीव्र
नेपालगन्ज — उद्योगी तथा व्यवसायीहरूको साझा संस्था नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। निर्वाचनका लागि उम्मेदवारहरूले मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने क्रमलाई तीव्र बनाएका छन्।
यसैक्रममा, आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अगाडि बढाएको छ। प्यानलले आफ्नो घरदैलो अभियानको दोस्रो दिन पनि नेपालगन्जका विभिन्न व्यावसायिक बजार तथा क्षेत्रहरूमा पुगी उद्योगी तथा व्यवसायीहरू सँग मत माटेको छ।
घरदैलोका क्रममा ओली नेतृत्वको संयुक्त प्यानलले व्यवसायीहरूको हकहित, व्यापारिक सुरक्षा, कर प्रणालीको सहजता र नेपालगन्जको समग्र आर्थिक समृद्धिका लागि आफ्नो समूह प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूले स्थानीय व्यवसायीका समस्याहरूलाई नजिकबाट बुझ्न र ती समस्याको समाधानका लागि संघको नेतृत्व लिन आफ्नो प्यानललाई जिताउन आग्रह गरेका छन्।
व्यवसायीहरूबाट पनि आफ्नो प्यानललाई उत्साहजनक समर्थन र सद्भाव प्राप्त भइरहेको ओली समूहले जनाएको छ। उम्मेदवारहरूको घरदैलो अभियानले नेपालगन्जका बजार क्षेत्रमा चुनावी चहलपहल थप बढाएको छ।


