४ बैशाख २०८१, मंगलवार

नेपालगन्ज बजारको स्थापना नै व्यवसायिक कारोबार गर्ने थलोको रुपमा नै भएको हो

एसीपी संवाददाता

१८ माघ २०७६, शनिबार ११:१० मा प्रकाशित

नेपालगन्ज बजारको स्थापना नै व्यवसायिक कारोबार गर्ने थलोको रुपमा नै भएको हो । ऐतिहासिक दृष्टिकोणले हेर्ने हो भने यो शहर प्रशासनिक इकाई बन्नु अघि नै व्यापारिक केन्द्र बनिसकेको थियो । यस क्षेत्रका रैथाने बासिन्दा र पहाडबाट आउने व्यापारीहरुको उत्पादन खरिद बिक्री हुने यो ठाउँमा भारतका साहु महाजनहरुको कारोबार हुने गर्दथ्यो ।

व्यवसायिक कारोबारमा त्यो बेला नेपालको पहाडमा उत्पादन हुने घ्यु, राडीपाखी र मरमसलामा खुर्सानी तथा सुठो हुने गर्दथ्यो भने तराईमा खाद्यान्न र बन पैदावारका वस्तुहरु जुन भारतका बजारहरुमा निकासी हुने गरेका थिए । भारतीय बजारबाट नुन, चिनी, धातुका भाडाकुँडा र लत्ता कपडा नेपाली बजारमा पैठारी हुने गरेको पाइएको छ । आज भोलीको जस्तो ठूलो बजार नभएपनि तत्कालिन समयको माग र आपूर्ति भने यो बजारबाट नै हुने गरेको थियो ।

नेपालगन्ज क्षेत्रमा सबैभन्दा ठूलो उद्योग थियो बन पैदावर । ब्रिटिश–भारतको कम्पनी कोलियरले यस क्षेत्रको महादेवा, कण्डा र झोरा जङ्गलबाट सालका काठ काटेर लैजाने गरेको थियो । तत्कालिन समयमा काठ ओसार–पसार गर्न बेलगाडा प्रयोग गरिन्थ्यो भने काठ बोक्न र निकाल्नका लागि हात्तीको सहायता लिने गरिन्थ्यो । कोलियर कम्पनीले जङ्गली क्षेत्रबाट काठ संकलन गराएर फूल्टेक्रामा भण्डारण गर्ने र भारतको नानपारा हुँदै लैजाने गरेको थियो । बन पैदावरमा काठ, महुवा र तेन्दुको पात, बाबियो तथा आम र सालको काठको कोयला, खयरको कारोवार लगायतका वस्तुहरुको व्यापार हुन थालेपछि ढुवानीका लागि उँट, घोडा र खच्चडको समेत उपयोग भयो ।

नेपालगन्जमा रेल चल्यो ः
कोलियर कम्पनीको व्यापार विस्तार हुन थालेको र साथै भारतको नानपारा सम्म रेल आइसकेकोले शुरुमा कोलियरले काठ बोक्ने कामका लागि रेलको लिक नेपालगन्जको फुल्टेक्रासम्म र मुर्तिहा नाका हुँदै बर्दियामा विस्तार ग¥यो । नेपालगन्जमा रेल मालसामान बोक्न फुल्टेक्रा जहाँ अहिले सैनिक व्यारेक र राणाहरुको बीच कोठी र पिलि कोठी रहेको छ त्यस क्षेत्रसम्म आउने–जाने गरेको थियो । कोलियरको काठ भण्डारण केन्द्र पनि त्यहि क्षेत्र नै थियो । पछि–पछि नेपाल–भारतको सीमाना स्पष्ट हुँदै गएकोले ब्रिटिश कम्पनी कोलियरले आफ्नो कारोवार सीमा क्षेत्रको जमुनाहामा पु¥यायो भने रेलवेको विस्तार भई रेलको लिक मिटर गेजमा परिणत भएर विधिवत नेपालगन्ज रोड स्टेशन बनाएर सन् १५ डिसेम्बर १८८६ देखि यस क्षेत्रका लागि नियमित रेल सञ्चालित भयो । ब्रिटिश–भारतको पुर्वोत्तर रेलवेले यस क्षेत्रमा रेल पु¥याउन दुई चरणमा काम गरेको पाइन्छ । पहिलो चरणमा गोण्डा देखि नेपालगन्ज सम्मका लागि ७० माइलको रेल लिक २ अप्रिल १८८४ मा विस्तार ग¥यो भने बहराइच देखि नेपालगन्ज रोड सम्मको ३४ माइल दूरीको मिटर गेजको रेलवे लिक विछ्याएर नेपालगन्जलाई भारतका ठूला बजारसम्म सहजै पुग्ने ढोका खोलिदियो ।

ब्रिटिश–भारतसँग नेपालगन्जको व्यापार नाफामाः
प्रत्येक वर्ष ब्रिटिश–भारतका प्रत्येक प्रान्तका प्रशासकहरुले आ–आफ्नो क्षेत्रको जनसंख्या, कारोबार लगायतका तथ्यांकहरु राखेर गजेटियर निकाल्ने गर्थे । यस्तै अवध गजेटियर अन्तर्गत नेपालगन्ज रोडका लागि भएको व्यापारमा पैठारी भन्दा निकासी नै बढी पाइएको छ ।

स्रोतः अवध गजेटियर सन् १८७८, Mr HS Boys C.S. Assistant Commissioner

नेपालगन्जको खसियारी बजार ः
कुनैपनि शब्दको अर्थको ब्याख्या त्यस समाजमा भएको प्रचलन, प्रयोग र अभ्यासबाट खोजी गरिनुपर्दछ । नेपालगन्ज बजारमा अवधि भाषी समुदायको बसोबास छ र यहि समाजले उपयोग गरिरहेको शब्दहरुको अर्थ फरक–फरक लगाइनु हुँदैन । खसियारी शब्दको अर्थलाई खास गरी केहिले खस समुदायसँग यारी अर्थात सम्बन्ध गाँस्ने प्रकारको भाव भन्ने गरेका छन् । तर यहि बजारमा घाँस काटेर कारोवार गर्नेलाई घँसियारा र यस कार्यलाई घाँसीयारी भन्ने गरिन्छ । पहाडबाट हाट बजार गर्न आउने हटारुहरु बस्ने सल्यानी र दैलेखी बङ्गलामा यहाँका व्यापारीहरु खसयारी गर्न जाने गरेका थिए । खसयारीको मूल भाव अवधि समाजको दृष्टिकोणबाट बुझ्ने हो भने खसि–बाख्रा जस्तो गरी गर्धन छिनाल्नु अर्थात काट्नु हो । पहाडमा जालझेल नगरेका हटारुहरुले बोकेर ल्याएको सामानको वास्तविक मूल्य नदिई धुत्र्याई, फकाई र सम्बन्ध बनाई सामान सस्तोमा किनिहाल्ने व्यापारीको कारोवार नै हो खसियारी ।

पहाडबाट जाडो याममा व्यापार गर्न आउनेहरुले आफूसँग ल्याएको सामान बेचेर आएको रकमबाट आफ्नो घर परिवारका लागि सर सामान किन्ने गरेका थिए । त्यस्तो खरिददारीमा पनि झुक्याई मालसामान कम–असलको र नापमा कम गरि दिने कार्यलाई पनि खस–काट भन्ने गरिन्थ्यो ।

नेपालगन्जको बजारमा आमरुपमा धुर्तता र फटाही कै कारोबार थिएन तर पनि कहि–कहि सुन्ने गरिन्थ्यो कुनै–कुनै पसलमा साहुले हटारुहरुको समुहलाई सामान नाप–जोख गरी राखेको बेला पसलेले महिलाहरुलाई लगाएर आफूतिर हटारुहरुलाई आकर्षित हुने भाव भंगीमा बनाउन लगाई हटारुहरुको उनितिर केन्द्रित भएको बेला साहुले नाप र जोखमा फरक पार्ने चलन थियो । भाडा–कुडा बेच्ने पसलेहरुले तौल फरक पार्ने ढक र तराजुको उपयोग गर्थे । कसै–कसैले चुम्बक राखेर ठग्ने गरेका हुन्थे । कपडा हातले नापेर बेच्ने चलन थियो । हटारुहरुको नजर अन्तै भएको बेला नाप घट–बढ गरीहाल्ने चलन थियो । यति मात्र होइन पहिलो पटक हाट आउने अनुभवहीन हटारु बजारमा आफू ठगिएको कुरा त बेलुका आफ्नो समुहमा उपहासको पात्र भएको बेला थाहा पाउथे ।

पहाडका बासिन्दाहरुको दोस्रो विश्वयुद्धपछि कैयौंका छोराहरु भारतीय सेनामा भर्ति भएकाले घर परिवारमा पैसा पठाएका हुन्थे । त्यो पैसा साहु–महाजनकहाँ बुझाउँदा लिँदा हजारका नोटलाई सय भनेर गनिहाल्ने र आफूले दिनुपर्ने भए सयका नोटलाई हजार भनेर दिने जस्ता कुकृत्य पनि यो बजारको प्रचलनमा थियो । तर अहिले बजारमा घँसियारा छन् तर घोडा नभएकाले घँसियारी हुँदैन । यता खसियारा छन् तर हटारुहरु विलूप्त भएकाले खसियारी भइरहेको छैन ।

अतीतको यौन र जुवा व्यापार ः
नेपालगन्ज बजारमा राणाकालमा यौन व्यापारले प्रवेश ग¥यो । भारतीय व्यापारी र साहु महाजनलाई लक्षित गरी तिहार पर्वको बेला आम रुपमा जुवा खेलाइने प्रचलनमा यौन दासी र सेवकको रुपमा यौन व्यवसाय यस बजारमा फैलियो । शहरको भगवान तलाउ र त्यसको आसपास लाग्ने मीना बजारमा खुल्लम खुल्ला यौन कारोबार हुन्थ्यो । त्यो बजारमा पनि कैयौ साहु–महाजन, ठूला बडा भारतीय व्यापारी लुटिन्थे । राणा शासनमा श्री ३ हरुले आयस्रोतका लागि सरकारी तवरबाटै जुवा खेलाउन प्रोत्साहन गर्थे । उता छिमेकी मुलुक भारतमा जुवा र यौन व्यवसाय पुरै प्रतिबन्धित थियो । नेपालगन्जको बजारमा जताततै सडक किनार जुवा खेलाइने गरिन्थ्यो । जुवा कारोबार राणा शासन सँगै आफै समाप्त भएर गयो तर यौन व्यवसाय पछिसम्म चलि नै रह्यो । समाजमा विकृति र विसंगति फैलिएर टोल छिमेकका बासिन्दाहरु आजित भएकाले शहर कै युवा जमातले यौनकर्मीहरुलाई लखेटे । उनिहरुले शहरलाई कलंकित हुनबाट जोगाएका थिए । त्यो बेलाका युवाहरुले साच्चै नेपालगन्जलाई सभ्य समाजको बाटोमा डो¥याउन मद्दत पनि पु¥याएका थिए । तर त्यो अतितको कारोबार नेपालगन्जमा अहिले प्रवेश गरिसकेको छ । तारे होटेलको संस्कृतिको विकास सँगै जुवा अड्डाहरु व्यवस्थित रुपमा फर्केका छन् भने यौनकर्मीहरु पनि बेला–बेलामा व्यवसायको खोजीमा नेपालगन्ज आउने–जाने गरेका छन् ।

नेपालगन्जको आफ्नै विद्युत प्रसारणः
नेपालगन्जमा समेत घर बनाएका बर्दियाका जमिन्दार हरिहर प्रसाद उपाध्यायले वि.सं. २०२०÷२१ सालमा आफ्नै व्यक्तिगत लगानीमा विद्युत गृह निर्माण गरेर बजार भरी विजुली फैलाए । त्यो बेला भारतका ठुुल्ठुला शहरमा विजुली आएको थिएन । उनले इङ्गलैण्डबाट डिजेलबाट चल्ने उच्च क्षमताको जेनेरेटर झिकाएर आफ्नै निजी लगानीमा नेपालगन्ज पावर हाउस सञ्चालनमा ल्याए । अहिले कै नेपालगन्ज विद्युत प्राधिकरणको कार्यालय रहेको ठाउँमा उनले पावर हाउस निर्माण गरेका थिए । त्यो भवनको अवशेष अहिले पनि सुरक्षित नै छ । हरिहर बाजेको नामले परिचित उनी भारतको विभिन्न ठाउँ घुमेका थिए । उनले कलकत्तामा बिजुली देखेर नेपालगन्जमा पनि पावर हाउस बनाउनुपर्छ भनेर लागे । नेपालगन्ज पावर हाउस नाम राखिएको उक्त विद्युत गृहको लाइन त्रिवेणी मोड सम्म काठको पोल गाडेर बजारमा विस्तार गरिएको थियो । प्रत्येक पोल र त्यस आसपासका घरहरुमा एउटा बल्ब बाल्ने व्यवस्था मिलाइएको थियो । त्यो विद्युत उत्पादन, प्रसारण र विस्तार गर्न उनले मिस्टर रोवर्ट नाम गरेका मिस्त्रि पनि उतैबाट झिकाएका थिए । निजी लगानीमा सञ्चालित उनले प्रत्येक घरबाट बत्ति बालेवापत मासिक विद्युत शुल्क लिने गरेका थिए । पछि जमिन्दारी उन्मुलनको कोपभाजनमा परेका हरिहर बाजेको पावर हाउस सरकारले आफ्नो अधिनमा लियो ।

नेपालगन्जको औद्योगिक व्यापारः
भारतबाट ब्रिटिश शासन समाप्त भइसकेपछि नेपालका सीमा बजारहरु केही समयसम्मका लागि सुस्त हुन पुगे । त्यसबेला नेपालगन्ज पनि प्रभावित भयो । भारत विभाजनमा परेकोले सीमापारी उद्योग र व्यापार चौपट भएको थियो । भारतको उद्योग व्यवसायको निर्भरतामा सञ्चालित नेपालगन्जको व्यवसाय फेरि नयाँ रुपले बढ्न थालेपछि ठूलो व्यापारको रुपमा मदनलाल चिरंजीवीलाल अग्रवालले गद्दी स्थापित गरी मुनिमहरुको रेखदेखमा व्यवसायलाई बढावा दिए । उनले कपडा–लत्ता, दैनिक उपभोगका वस्तु, मेसिनरी उपकरण बेचबिखनका साथै मानपुरमा चामल तथा तेल उत्पादन गर्ने गणेश हिमाल राइस मिल पनि स्थापना गरेका थिए । नेपालगन्ज बजारमा पाकिस्तान र बंगलादेशबाट शरणार्थीका रुपमा भारत आएकाहरु मध्ये पाकिस्तानी लालाको नामले पसल चलाए भने सिन्धीहरुले होटेल व्यवसाय तथा बंगलादेश तिरबाट आएकाहरुले बंगाली बाबुको दवाखाना औषधी उपचारको व्यापार गरे । पछि नेपाली राजनीतिमा उथल–पुथल भएको बेला मदललाल चिरंजीवीलालको व्यवसाय चौपट भयो । उनका मुनिमहरुले नै उनको दिवाला निकालदिए । उनको कारोवार र सम्पत्ति समेत हात पारी हाले । उच्चस्तरको त्यसबेला ब्राण्डेड सामान बेच्ने पाकिस्तानी लाला पनि धेरै दिन यो बजारमा टिक्न सकेनन् । उनका प्रतिद्वन्द्वी बजारमा धेरै थिए । उनले सिगरेट कालोबजारीको आरोप खेपे पछि उनि पनि भारतको लखनउ तिर फर्किए । बंगाली दवाखानाहरु घाउ खटिराको औषधी उपचारमा केन्द्रित हुन पुगे ।

नेपालगन्ज बजारको सामाजिक र सांस्कृतिक विरासत जे जस्तो भएपनि समय सँगसँगै परिवर्तित स्वरुप पनि देखिएको छ । विगतका साेंचहरुका कारण उठन नसकेको शहर अहिले कर्पोरेट संस्कारलाई अङ्गिकार गर्दै अगाडी बढेको छ । परिवर्तित समाज र प्रगति उन्मुख सोचले नै शहरको अस्तित्वलाई सदियौंसम्म जोगाई राख्ने छ । चिनीयाँ यात्री फाहियानले पाँचौ शताव्दीमा आचिरावती नदी (अपभ्रंश भएर अहिले राप्ती नदी भनिएको क्षेत्र) को भ्रमण वर्णनमा यस क्षेत्रका आसपास सभ्य सभ्यता गुल्जार भएको उल्लेख गरेका छन् । चिनीयाँ यात्री फाहियानलाई पछ्याउँदै बौद्धकालीन सभ्यताहरुको खोजी गर्न भ्रमणमा निस्केका सातौ सताब्दीतिर आएका चिनीयाँ यात्री हुएन सियांगले आचिरावती नदी बाहेक बाँकी सभ्यताहरु खण्डहरमा परिणत भएको उल्लेख गरेका छन् । प्राकृतिक विविधता र भौगोलिक परिवर्तनका कारण संसारका कैयौं सभ्यताहरु विलुप्त भएको इतिहासमा दर्ज छ । आचिरावती सभ्यताको एक अंश नेपालगन्ज अहिलेको राप्ती नदिको तटीय क्षेत्र अन्तर्गत नै हो । यसको खोजी हुनु जरुरी छ । १७ गते 31 जनवरी नेपालगन्ज न्युजमा प्रकाशित / बिचारलाई सभार गरिएको छ ।

लेखक ज्युको अनुमतिबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x