१० असार २०८३, बुधबार

बाँके , बर्दिया , कैलाली र कंचनपुर भारतमै थियोे थियोे

एसीपी संवाददाता

१० असार २०८३, बुधबार ०७:३५ मा प्रकाशित

नयाँ मुलुकको नक्सामा हस्ताक्षर : नेपालको भूगोल विस्तारसँग जोडिएको ऐतिहासिक प्रसंग

-डा. प्रेमसिंह बस्न्यातबाट

वि.सं. १९१६ चैत २९ गते नेपालको इतिहासमा एउटा महत्वपूर्ण दिन थियो। यही दिन नेपालले फिर्ता प्राप्त गरेको ‘नयाँ मुलुक’ समेटिएको नयाँ राष्ट्रिय नक्सामा नेपाली प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए।

सन १८५७ मा इष्ट इण्डिया कम्पनीको शासनविरुद्ध भारतमा प्रसिद्ध ‘सिपाही विद्रोह’ (गदर) भएको थियो। उक्त विद्रोह नियन्त्रण गर्न बेलायती सरकारको अनुरोधमा तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा स्वयंको नेतृत्वमा करिब १४ हजार नेपाली सेना भारत पुगेको थियो।

नेपाली सेनाको सहयोगसहित बेलायती पक्षले विद्रोह नियन्त्रण गर्न सफलता प्राप्त गर्‍यो। त्यसपछि बेलायत सरकार जङ्गबहादुर राणा र नेपालप्रति सकारात्मक भयो। फलस्वरूप, नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिबाट गुमेको भूभागमध्ये पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिने निर्णय गरियो। यी चार जिल्लालाई पछि ‘नयाँ मुलुक’ का नामले चिनिन थालियो।

उक्त भूभाग नेपालमा पुनः समावेश भएपछि नेपाल र बेलायती भारतबीचको सीमा पुनर्निर्धारण गरियो। यही परिवर्तनलाई औपचारिकता दिन तयार गरिएको नयाँ नक्सामा नेपालका तर्फबाट नेपाली सेनाका कर्णेल डिल्लिसिंह बस्न्यात (श्रीपाली) र सरदार सिद्धिमानसिंह राजभण्डारीले वि.सं. १९१६ चैत २९ गते हस्ताक्षर गरेका थिए।

कर्णेल डिल्लिसिंह बस्न्यात र सरदार सिद्धिमानसिंह राजभण्डारी दुवै जङ्गबहादुर राणाका विश्वासपात्र सहयोगी थिए। उनीहरू जङ्गबहादुरसँग बेलायत भ्रमणमा समेत सहभागी भएका थिए। कर्णेल डिल्लिसिंह बस्न्यात जङ्गबहादुरका सम्धी नाताका व्यक्ति पनि थिए।

रोचक तथ्य के छ भने, काठमाडौंको प्रसिद्ध ‘डिल्लीबजार’ क्षेत्रको नाम पनि यिनै कर्णेल डिल्लिसिंह बस्न्यातको नामबाट रहन गएको मानिन्छ।

नयाँ मुलुक फिर्ता प्राप्ति नेपालको भूगोल विस्तारको मात्र विषय थिएन, यसले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक सीमालाई समेत आकार दिएको ऐतिहासिक घटना थियो। त्यसैले नयाँ नक्सामा हस्ताक्षर गर्ने ती नेपाली प्रतिनिधिहरूको योगदान पनि नेपालको इतिहासमा विशेष महत्वका साथ स्मरणीय छ। अर्थपेजमा प्रकाशित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x