३० कार्तिक २०८३, आईतवार

फिचर समाचार लेखन तालिम शुभारम्भ ।

एसीपी संवाददाता

५ असार २०८३, शुक्रबार १८:३७ मा प्रकाशित

२०८३ असार ५, काठमाडौं ।
नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) को आयोजनामा तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा सञ्चालन भइरहेको एक महिने फिचर समाचार लेखन तालिम आजबाट शुभारम्भ भएको छ।

दैनिक ३ घण्टा अनलाइन माध्यमबाट सञ्चालन भइरहेको यस तालिममा नेपालका विभिन्न जिल्लासहित विदेशमा रहेका पत्रकार तथा सञ्चारकर्मी गरी ४४ जना सहभागी भएका छन्।

तालिमको प्रारम्भमा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तथा तालिम संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले सहभागीहरूलाई स्वागत गर्दै तालिमका उद्देश्य, विषयवस्तु, प्रशिक्षकहरू तथा तालिम सञ्चालन प्रक्रियाबारे जानकारी गराउनुभयो। उहाँले नेपाल प्रेस इन्स्टिच्युटका गतिविधि, तालिमका विशेषता तथा इन्स्टिच्युटका नेपालगञ्ज र विराटनगर कार्यालयबारे समेत जानकारी दिनुभएको थियो।

तालिमको पहिलो दिन मदन पुरस्कार २०८० विजेता, वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीले फिचर समाचार लेखनसम्बन्धी प्रशिक्षण दिनुभयो।

उहाँले समाचारका लागि विषय छनोट, अनुसन्धानको तयारी, सूचना सङ्कलनका स्रोत, तथ्य तथा अवलोकनको महत्वलगायत फिचर लेखनका आधारभूत पक्षबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभयो।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई अनुसन्धानको त्रिकोण, स्रोतसँगको प्रभावकारी संवाद, तथ्य–तथ्याङ्कको प्रयोग, दस्तावेज अध्ययन तथा प्रत्यक्ष अवलोकनमार्फत जीवन्त र प्रभावकारी फिचर समाचार तयार गर्ने विधिबारे जानकारी गराइएको थियो। साथै, खोजमूलक पत्रकारितामा सूचना सङ्कलन र सत्यापनको महत्वबारे पनि चर्चा गरिएको थियो।

एक महिनासम्म सञ्चालन हुने यस तालिममा सहभागीहरूले अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा फिचर समाचार तयार गर्ने अवसर प्राप्त गर्नेछन्। तालिम अवधिभित्र तयार पारिएको कम्तीमा एक फिचर समाचार कुनै सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित भएपछि सहभागीहरूलाई नेपाल प्रेस इन्स्टिच्युटद्वारा प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ।

पहिलो दिनको सत्र अत्यन्त उपयोगी, अन्तरक्रियात्मक तथा ज्ञानवर्द्धक रहेको सहभागीहरूले बताएका छन्। पत्रकारितामा गुणस्तरीय फिचर लेखन सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान, अनुसन्धान क्षमता र लेखनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

📸 तस्बिरमा: वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीले अनलाइन माध्यमबाट प्रशिक्षण दिँदै।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x