१ श्रावण २०८३, शुक्रबार

नेपालीको पटक–पटक आग्रह चिनको बेवास्ता, रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द

एसीपी संवाददाता

२९ भाद्र २०७७, सोमबार ०३:४३ मा प्रकाशित

नाका बन्द

अझ सामान लोड–अनलोड गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त दुई सातादेखि रसुवागढी–केरुङ नाका पुनः पूर्ण रूपमा बन्द

चीनसँगको व्यापारको प्रमुख नाका रसुवागढी हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी विभिन्न अवरोधका कारण १५ सयभन्दा बढी कन्टेनर केरुङमै रोकिएका छन् । गत माघमा हिमपातका कारण रोकिएको नाका त्यसपछि कोरोना महामारी सुरु भएपछि ६ महिनासम्म बन्द रहेको थियो । हाल नाका खुले पनि चीनले दैनिक सरदर ५ वटा ट्रकलाई मात्रै नेपाल प्रवेश गर्न दिइरहेको छ । अझ सामान लोड–अनलोड गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त दुई सातादेखि रसुवागढी–केरुङ नाका पुनः पूर्ण रूपमा बन्द भएको छ ।

अहिले पनि चिनियाँ पक्षले केरुङ नाकाबाट नेपाली ट्रकचालकलाई प्रवेश दिएको छैन । नाका एकतर्फी रूपमा सञ्चालनमा रहेका कारण निर्यात शून्य नै छ । कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यसरी दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले सो नाकामा कन्टेनरको लाइन लागेको हो ।

नेपाली व्यवसायीले अघिल्लो वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्नलगायत सामग्रीका कन्टेनर अड्किँदा एकातर्फ ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने अर्कातर्फ बजारमा त्यस्ता वस्तुको अभाव देखिन थालेको छ ।

यो वर्षको दसैँलाई मगाइएका मात्रै होइन, अघिल्लो जाडो सिजनकै लागि लोड भएका सामग्रीसमेत केरुङमा अड्किएपछि त्यसलाई छुटाउन नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको छ । तर, चीनले नेपालमा कोरोनाको उच्च जोखिम रहेको भन्दै नाका पूर्ण रूपमा खोल्न मानेको छैन ।

नाकामा रसुवाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्ण रूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरेका छन् । ‘गत मंसिरदेखिकै सामान अड्किँदा व्यवसायीको अर्बौँ रुपैयाँ जोखिममा परेको छ, करोडौँको नोक्सान व्यहोरिसकेका छन्, एक–दुुई सय कन्टेनर स्याउ त बाटोमै कुहिए,’ उनले भने, ‘किनेर ल्याएका सामग्री छोड्नसमेत चीनले अटेर गरेको छ, यो व्यापारिक मात्रै होइन, कूटनीतिक हिसाबले पनि उचित होइन ।’

नेपाल–चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष राष्ट्रभूषण चाकुबजीका अनुसार अहिले खासगरी फलफूल, तरकारी तथा फेन्सीलगायत हलुुका सामग्री मात्रै नेपाल भित्रिरहेको छ । ‘मानिसले लोड–अनलोड गर्न सक्ने हलुका वस्तु तथा सामग्री मात्रै नेपाल भित्रिरहेको छ, क्रेनले लोड–अनलोड गर्ने मेसिनरी तथा ठूूला उपकरण उतै अड्किएका छन्,’ उनले भने । 
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले एक वर्षदेखि केरुङ नाकामा कन्टेनर अड्किएको बताए ।

सरकारले कूटनीतिक पहल गरेर छिटोभन्दा छिटो चीनतर्फको व्यापारलाई सामान्य अवस्थामा जस्तै ल्याउनुपर्ने उनको भनाइ छ । सडक भत्किएका कारण केरुङमा अड्किएका सामग्री तातोपानी खासातर्फबाट ल्याउनसमेत नसकिएको उनीहरूले बताए । ‘अन्तर्राष्ट्रिय नाकाबाट जम्मा चार–पाँचवटा कन्टेनर मात्रै नेपाल पठाइँदै आएको छ, यही गतिमा कन्टेनर छाडिने हो भने त अड्किएका कन्टेनर नेपाल आइपुुग्न अर्को एक वर्ष लाग्नेछ,’ कटुवालले भने, ‘केरुङमा चीनले सहजीकरण गरेको छैन, तातोपानीबाट ल्याउन बाटो अवरुद्ध छ, सरकारले ध्यान नदिँदा चीनतर्फको व्यापार सामस्यामा रहेको देखिन्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले कोभिड–१९ को जोखिम तथा बाढीपहिरोका कारण सडक भत्किँदा रसुवागढी–केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए । यद्यपि, नेपाल सरकारले कूटनीतिक पहल गरेर ती कन्टेनर छुटाउने काम गरिरहेको उनको भनाइ छ । ‘निकै लामो प्रयासपछि नाका सञ्चालनमा ल्याउन सकियो, तर पूर्ण रूपमा चल्न सकेको छैन,’ उनले भने, ‘अहिले चिनियाँ पक्षले दैनिक ५ देखि १० वटा ट्रक मात्रै छाडिरहेका छन्, त्यसैले त्यहाँ कन्टेनर थुप्रिएका हुन्, अब क्रमशः यो संख्या बढ्दै जानेछ, हामी निरन्तर संवादमा छौँ, प्रयास जारी छ ।’

 संक्रमितको रिपोर्ट नेगेटिभ आउँदा पनि नाका खोलिएन
रसुवागढी नाकामा सामग्री लोड–अनलोडमा काम गर्ने एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि झन्डै दुुई सातादेखि रसुवागढी–केरुङ नाका बन्द छ । एकजना नेपाली कामदारमा कोरोना संक्रमण देखिएपछि १६ भदौदेखि नाका पूर्ण रूपमा बन्द अवस्थामा रहेको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।

‘संक्रमण देखिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर एक सयजनाको पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको तथा पछिल्लो टेस्टमा ती व्यक्तिको पनि रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘रिपोर्ट नेगेटिभ आएलगत्तै हामीले नेपाली व्यवसायीले मगाएका सयौँ कन्टेनर सामग्री केरुङमा अड्किएका छन्, अब नाका खोल्नुपर्छ, पूर्ण रूपमा चलाउनुपर्छ भनेर चिनियाँ पक्षलाई भनेका छौँ, तर उहाँहरू अलि सकारात्मक देखिनुभएको छैन ।’

 तातोपानी नाका बन्द अवस्थामै
माघ पहिलो साताबाट बन्द रसुवा र तातोपानी नाका चैतको अन्तिम साताबाट सञ्चालनमा आएका थिए । तर, बाढीपहिरो तथा कोभिडका कारण पूूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट हुने व्यापार गत २५ असारदेखि बन्दजस्तै रहेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । 

चीनबाट हुने १५% आयात १% मा झर्यो
 नेपालको कुल आयात व्यापारमा १५.२ प्रतिशत र निर्यात व्यापारमा १.२ प्रतिशत हिस्सा चीनको छ । साउन महिनामा चीनबाट ११ अर्ब १७ करोड रुपैयाँबराबरको सामग्री आयात भएको छ । यस अवधिमा चीनतर्फको निर्यात भने ५ करोड ६० लाखबराबर मात्रै भएको भन्सार विभागको तथ्यांक छ ।

साउन महिनामा केरुङ नाका हुँदै ९७ करोड ७५ लाख रुपैयाँबराबरको सामग्री आयात भएको छ । जुन कुल आयातको १.१४ प्रतिशतबराबर हो । तातोपानी नाका भएर भने १५ करोड २ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ । जुुन कुल आयातको ०.१८ प्रतिशतबराबर हो । 

गत आवमा चीनबाट नेपालमा १ खर्ब ८१ अर्ब रुपैयाँको सामग्री भित्रिएको थियो । तर, नेपालले भने १ अर्ब १९ करोड रुपैयाँको मात्रै निर्यात गर्न सक्यो । उक्त आवमा रसुवा नाका भएर २६ अर्ब ४६ करोडको सामग्री भित्रिएको थियो । यो चीनबाट हुने कुल आयातको १५ प्रतिशत हो । त्यस्तै, तातोपानी नाकाबाट कुल आयातको ५ प्रतिशत हुन आउने ९ अर्ब ५३ करोडको सामग्री भित्रिएको थियो ।सभार / नयाँ पत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x