नेपाली कांग्रेस बाँके–२ को क्षेत्रीय सचिवमा लोक बहादुर शाहको उम्मेदवारी
दिनेश ठाकुर, बाँके, असोज १२ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा बाँकेमा पार्टीको आन्तरिक निर्वाचन गतिविधि तीव्र बनेको छ। यसै क्रममा नेपाली कांग्रेसका नेता लोक बहादुर शाहले बाँके क्षेत्र नं. २ को क्षेत्रीय सचिव (प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात गर्दै पार्टी संगठनलाई थप गतिशील, सुदृढ र एकताबद्ध बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको शाहले बताउनुभएको छ।
लामो समयदेखि पार्टीका विभिन्न तहमा रहेर संगठन निर्माण तथा पार्टी गतिविधिमा योगदान पुर्याउँदै आउनुभएका शाहले युवा पुस्तालाई पार्टी संगठनमा थप सक्रिय बनाउँदै अग्रजको अनुभव र युवाको ऊर्जालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आफ्नो उम्मेदवारीबारे धारणा राख्दै शाहले भन्नुभयो, “पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अझ बलियो बनाउन, अग्रज नेताहरूको सम्मान गर्दै युवाहरूको ऊर्जा र सक्रियतालाई समेटेर संगठनलाई अघि बढाउन मैले क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिएको हुँ। बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसलाई अझ बलियो, व्यवस्थित र चलायमान बनाउन म प्रतिबद्ध छु।”
महाधिवेशनको मिति नजिकिँदै जाँदा शाहले पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूसँग भेटघाट र छलफललाई तीव्रता दिनुभएको छ। उम्मेदवारी घोषणासँगै क्षेत्र नं. २ मा क्षेत्रीय सचिव पदका लागि राजनीतिक गतिविधि थप बढेको छ।
शाहले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको विकास तथा युवा सहभागिता विस्तारसँग जोड्दै प्रतिनिधिहरूसँग समर्थनका लागि आग्रह गरिरहनुभएको छ।


