नेपाली फिल्मका लागि पुस महिना वास्तवमै फासफुस
काठमाडौँ — पुस फासफुस भनिन्छ । नेपाली फिल्मका लागि पुस महिना वास्तवमै फासफुस भएको छ । विदेशी फिल्म प्रदर्शनका लागि हलमा भिडिरहँदा नेपाली फिल्मको संख्या भने शून्य नै देखिन्छ । तीन हप्तादेखि हलमा नेपाली फिल्मको खडेरी लागेको छ ।

यो पुसमा एउटै मात्र फिल्म हलमा प्रदर्शनमा आउने भएको छ। त्यो हो, साम्तेन भुटिया निर्देशित फिल्म ‘सुस्केरा’। यसअघि मंसिरको एकै साता तीन-तीन वटा फिल्म प्रदर्शनमा आए। तर, पुसमा भने एउटै फिल्म मात्र छ। लामो समयदेखि प्रदर्शन मिति धकेलिएर ‘सुस्केरा’ पुस १८ मा सारियो। अहिलेसम्म फिल्मको कुनै प्रचारप्रसार देखिन्न। अब यो फिल्म पनि प्रदर्शनमा आउला नआउला टुङ्गो छैन।
‘सुस्केरा’ पनि प्रदर्शनमा आएन भने पुस नेपाली फिल्म क्षेत्रका लागि फासफुस नै हुने देखिन्छ। गत शुक्रबार बलिउड फिल्म ‘गुड न्यूज’ले नेपाली हलको साख जोगायो। यही फिल्म पनि प्रदर्शनमा नआइदिएको भए हलवाला झिँगा धपाएरै बस्नुपर्ने अवस्था हुन्थ्यो। त्यसअघिको हप्तामा सलमान खान अभिनित फिल्म ‘दबंग ३’ले हलमा कब्जा गर्यो।लगानी नै उठाउन हम्मेहम्मे पर्ने नेपाली फिल्मबाट के निर्माताहरुको विश्वास उडेको हो ?
पुसमा एउटै नेपाली फिल्म नचलेको देख्दा निर्माता नेपाली फिल्ममा लगानी गर्न सचेत भएको देखिन्छ। त्यसैले त होला पुसपछि सिधै माघ तेस्रो हप्तामा हलमा नेपाली फिल्म प्रदर्शनमा आउँदैछ। माघ तेस्रो हप्तामा ‘दि कर्मा’ प्रदर्शनमा आउँदैछ। यद्धपि माघ महिनाकै चौथो हप्तादेखि प्रदर्शनमा आउने फिल्म ‘सेल्फि किङ’ र ‘साङ्लो’ चर्चामा छ।