२ आश्विन २०८३, शुक्रबार

परिवार योजना दिवसमा स्वस्थ्य परिवार र प्रजनन स्वास्थ्यबारे बहस आवश्यक

एसीपी संवाददाता

२ आश्विन २०८३, शुक्रबार १९:५६ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, असोज २ — स्वस्थ्य परिवार निर्माणसँगै प्रजनन स्वास्थ्यका विषयमा परिवार तथा समाजस्तरमा थप बहस, छलफल र सचेतना आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।

१३औँ राष्ट्रिय परिवार योजना दिवस तथा ६७औँ नेपाल परिवार नियोजन संघ स्थापना दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ बाँके शाखाले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले परिवार योजनालाई सामान्य अवस्थामा मात्र नभई विपद्का समयमा समेत प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

कार्यक्रमको मुख्य नारा ‘विपद् होस् वा सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता’ रहेको थियो।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय सदस्य रोशन श्रेष्ठले स्वस्थ्य परिवारबाट मात्रै देशको समग्र विकास सम्भव हुने बताए। उनले परिवार योजनाका विषयमा निरन्तर बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै परिवार नियोजन संघले परिवार योजना निर्माणका लागि गर्दै आएको पहललाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

नेपालगन्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्द रेग्मीले नेपाल परिवार नियोजन संघले स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले संघले आफ्ना सेवाको दायरा अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। पछिल्लो समय परिवार नियोजनसँगै जनसंख्या वृद्धिसम्बन्धी विषयलाई समेत प्राथमिकताका साथ हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

नेपाल नेत्र ज्योति संघका
भोला त्रिपाठीले नेपाल परिवार नियोजन संघले प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। विद्यालयका पाठ्यपुस्तकमा समेत प्रजनन स्वास्थ्यसम्बन्धी विषय समेटिन थालेसँगै यसबारे चेतनाको स्तरमा सुधार हुँदै गएको उनले उल्लेख गरे।

नेपाल परिवार नियोजन संघ बाँकेका सभापति बदरुद्दुजा खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका विशेषज्ञ सदस्य ईश्वरीप्रसाद ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन संघकाशाखा प्रबन्धक रश्मि श्रेष्ठले गरेकी थिइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x